नेपाल पुलिस क्लब र न्यु डायमन्ड स्पोर्टस् क्लबबिच नवौँ एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि हुने भएको छ । उपाधि भिडन्त शनिबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुँदै छ । महिलातर्फको पहिलो सेमिफाइनलमा पुलिसले अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई ३–१ को सेटमा हराउँदै फाइनल स्थान पक्का गरेको छ । न्यु डायमन्डले फाइनल स्थान पक्का गर्ने क्रममा नेपाल एपिएफल क्लबलाई ३–० को सेटमा पाखा लगायो ।
पुलिस र आर्मीबिचको सेमिफाइनलमा रोमाञ्चक बन्ने अपेक्षा थियो । तर, पुलिसविरुद्ध आर्मीले दोस्रो सेटबाहेक अन्यमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । एक अर्थमा पुलिसले आर्मीलाई एकपक्षीय रूपमा हराएको हो । पहिलो सेटमा पुलिसले २५–१२ ले बाजी मारेको थियो । दोस्रो सेटमा आर्मीले उत्कृष्ट पुनरागमन गर्यो । यो सेट लगातार बराबरीमा पुगेको थियो । पुलिसले सामान्य गल्ती गर्दा आर्मीले २९–३१ ले जित्यो । आर्मीले दोस्रो सेटमाथि बाजी मार्दा पुलिसलाई अगाडि गाह्रो हुने अवस्था थियो ।
तर, पुलिसका खेलाडीले संगठित रूपमा प्रदर्शन गरी तेस्रो तथा चौथो सेट जित्दै आर्मीलाई सेमिफाइनलमै रोक्यो । पुलिसले तेस्रो २५–१४ र चौथो सेट २५–१८ ले जितेको थियो । अर्को सेमिफाइनलमा न्यु डायमन्डले एपिएफलाई २५–१७, २५–२० र २५–७ ले हरायो । प्रतियोगिताको फाइनल स्थान पक्का गर्ने क्रममा न्यु डायमन्डले विपक्षीबाट चुनौतीको सामना गर्नुपरेको छैन ।
हेल्प नेपाल र आर्मी फाइनलमा
पुरुषतर्फ साबिक विजेता हेल्प नेपाल स्पोर्टस् क्लब उपाधिनजिक पुगेको छ । हेल्प नेपालले सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सहज सेटमा हराउँदै फाइनल स्थान सुरक्षित गर्यो । पुलिसविरुद्ध हेल्प नेपाल २५–२१, २५–२३ र २५–२२ ले विजयी भयो । पुलिसले अब उपाधिका लागि आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीले रुकुम पश्चिमलाई हरायो ।
निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक सेमिफाइनलमा त्रिभुवन आर्मीले पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–२ को सेटमा हरायो । रुकुमलाई पाखा लगाउन आर्मीलाई निकै मिहिनेत गर्नुपरेको थियो । आर्मी २५–२०, २३–२५, १५–२५, २६–२४ र १५–१२ ले विजयी भएको हो । पहिलो सेट जितेर लगातार दुई सेट गुमाएको आर्मीले त्यसपछि लगातार दुई सेट जित्यो । दोस्रो र तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन गरे पनि रुकुम पश्चिमले चौथो सेटमा नजिक पुगेर हारको सामना गर्यो ।