सशस्त्र प्रहरी बल २८ नम्बर गणले मनायो १९औँ स्थापना दिवस

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

कपिलवस्तुस्थित सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गणले १९औँ स्थापना दिवस मनाएको छ। कपिलवस्तु नगरपालिका– ६, बर्मेलीस्थित गणपरिसरमा विभिन्न कार्यक्रम गर्दै स्थापना दिवस मनाएको हो । 

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआइजी दीपेन्द्र कुँवरले कठिन परिस्थितिमा पनि सशस्त्र प्रहरी बलले राष्ट्र र नागरिकप्रति आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको उल्लेख गरेको छन् । स्थापना दिवसले संगठनलाई थप जिम्मेवार र कर्तव्यनिष्ठ बनाएको र संगठनको यात्रामा भएका त्याग, समर्पण र बलिदानको स्मरण गर्नुपर्ने बताए । 

डिआइजी कुँवरले विपत् व्यवस्थापन, सीमा सुरक्षा तथा शान्ति सुरक्षामा सशस्त्र प्रहरी बलको आवश्यकता बढ्दै गएको बताए । सशस्त्र प्रहरीको सक्रिय भूमिकाले राजस्व संकलनमा समेत सकारात्मक योगदान पुगेको उनले उल्लेख गरे । 

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले विपत् व्यवस्थापन र सीमा सुरक्षामा सशस्त्र प्रहरी बलको भूमिका अत्यन्तै महत्त्वपूर्ण र प्रशंसनीय रहेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कठिन परिस्थितिमा स्थापना भएको सशस्त्र प्रहरी बलले चुनौतीलाई अवसरमा बदल्दै अगाडि बढेको उल्लेख गरे । 

कपिलवस्तु नगरपालिका प्रमुख सुदीप पौडेलले सशस्त्र प्रहरी बललाई आगामी दिनमा अझ कर्मशील, अनुशासित र इमानदार भएर राष्ट्रसेवामा समर्पित रहन सुझाव दिए । 

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कपिलवस्तुको स्थापना १५ पुस ०६४ मा कपिलवस्तु नगरपालिका– ३, तौलिहवास्थित नेपाल कृषि सामग्री संस्थानको पुरानो गोदामबाट भएको थियो । हाल गण हेडर्क्वाटर सदरमुकाम तौलिहवाबाट करिब सात किलोमिटर उत्तर–पश्चिममा अवस्थित रहेको  छ।

स्थापना दिवसको अवसरमा भलिबल, ब्याडमिन्टन, ३०० मिटर दौड प्रतियोगिता, मठ–मन्दिर सरसफाइ तथा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएकाे थियाे । 

सुझावित समाचार