धादिङको गल्छी गाउँपालिका– ८ स्थित छाङ्गेश्वर मन्दिरपरिसरमा आयोजित गल्छी कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव– २०८२ सम्पन्न भएको छ। पुस २ गतेदेखि सुरु भएको मेला पुस १५ गते समापन गरिएको हो।
श्री छाङ्गेश्वर महादेव छाङ्गादेवी मन्दिरको सहआयोजनामा सञ्चालन गरिएको महोत्सवमा १५ हजार दर्शकले अवलोकन गरेका छन् भने करिब एक करोड रुपैयाँबराबरको कारोबार भएको आयोजक राष्ट्रिय लोकसांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिए।
महोत्सवले स्थानीय कृषि उत्पादन, मौलिक संस्कृति र व्यापारिक गतिविधिको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ। मेलामा स्थानीय किसानद्वारा उत्पादित कृषि उपज, घरेलु तथा हस्तकलाका सामग्री, स्थानीय उत्पादनका स्टलहरू राखिएको थियो। साथै, विभिन्न जातजातिको मौलिक वेशभूषा, लोकनृत्य, लोकगीत तथा सांस्कृतिक प्रस्तुतिहरूले मेलालाई थप आकर्षक बनाएको थियो।
मेला अवधिभर कृषि प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा सांस्कृतिक संरक्षणका विषयमा समेत छलफल र जानकारीमूलक गतिविधिहरू सञ्चालन गरिएको थियो। गल्छी गाउँपालिकाका स्थानीयवासीसहित आसपासका क्षेत्रबाट ठुलो संख्यामा दर्शक तथा आगन्तुकहरूको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।
छाङ्गेश्वर मन्दिरपरिसरमा आयोजना गरिएको मेलाले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको क्षेत्रको प्रचारप्रसारमा सहयोग पुगेको सहआयोजक श्री छाङ्गेश्वर महादेव छाङ्गादेवी मन्दिर समितिका अध्यक्ष खेमप्रसाद अमगाईंले बताए।