मन्दिरको खेतको धान दिन नमानेको विवादमा तत्कालीन बेल्हीचपेना गाविस– ३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास वैरागीको हत्या भएको २७ वर्ष बितिसक्दा पनि दोषीमाथि कारबाही हुन सकेको छैन।
पुजारी हत्या प्रकरणमा आरोपित राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डल, उनका बुबा तथा तत्कालीन बेल्हीचपेना गाविस अध्यक्ष गंगाराम मण्डलसहित रामदेव सदा मुसहर, मनिक शर्मा, बच्चा यादव बौका र भोलिछन सदा अझै फरार छन्। उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भइसके पनि प्रहरीले पक्राउ गर्न चासो नदेखाएको आरोप छ।
हत्या अभियोगमा आरोपित सातजनामध्ये रामनारायण मण्डल भने गत मंसिर २९ गते दुई लाख रुपैयाँ धरौटीमा छुटेका छन्। सप्तरी जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको एकल इजलासले अदालतमा हाजिर भएका मण्डललाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
तत्कालीन बेल्हीचपेना गाविस– ३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास वैरागीको अस्थिपञ्जर २०५५ साल साउन ३ गते फेला परेको थियो। हाल राजगढ गाउँपालिका अध्यक्ष रहेका ओमप्रकाश मण्डलका बुबा गंगाराम मण्डलले मन्दिरको नाममा रहेको ११ बिघा जग्गाको धान मन्दिरलाई दिन नमानेपछि विवाद चर्किएको र त्यसकै कारण हत्या भएको अभियोगपत्रमा उल्लेख छ।
अभियोगपत्रअनुसार राजविराजमा बैठक गर्ने बहानामा पुजारीलाई बोलाएर कोशी नहरको उत्तर–दक्षिण पुलनजिक हत्या गरी शव नहरमा फालिएको थियो। मन्दिरको बाली लुटपाट र ज्यान मार्ने धम्की दिएको भन्दै पुजारीले गंगाराम मण्डलविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदनसमेत दिएका थिए।
तर, ‘मिलापत्र गराइदिन्छु, गंगाराम मण्डल राजविराजमै छन्, भेटेर प्रहरी चौकी पथलगाडामा बैठकमा जानुपर्छ’ भन्दै बच्चा यादव बौकाले पुजारीलाई लिएर गएको अभियोगपत्रमा उल्लेख छ। त्यसको १० दिनपछि पुजारीको अस्थिपञ्जर फेला परेको थियो। उक्त अस्थिपञ्जरको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा परीक्षणसमेत गरिएको छ।
अभियोगपत्रमा भनिएको छ, ‘मन्दिरको नाममा रहेको जग्गा र पोखरीको आम्दानी हिनामिना भएको तथा बाली लुटपाटसम्बन्धी विवादका कारण रिसइबी राखी मृतकलाई कर्तव्य गरी हत्या गरी नहरमा शव फालिएको पुष्टि भएको छ।’
पुजारी हत्या प्रकरणका मुख्य अभियुक्त राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल ‘अदालतमा हाजिर हुन्छु’ भन्दै फरार भएका छन्। पक्राउ पुर्जी जारी हुँदासमेत उनी पक्राउ नपरेको विषयमा नयाँ पत्रिकाले मंसिर १७ गते समाचार प्रकाशन गरेपछि मात्र प्रहरी प्रशासनले चासो देखाएको थियो।
सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलका अनुसार मण्डल मंसिर १९ गते शुक्रबार बिहानदेखि सम्पर्कविहीन छन्।
‘उहाँले शुक्रबार अदालतमा हाजिर हुन्छु भन्नुभएको थियो, तर बिहानदेखि सम्पर्कमा आउनुभएको छैन। प्रहरीले खोजी गरिरहेको छ,’ उनले भने।
यद्यपि, मण्डललाई प्रहरीको मिलेमतोमा फरार गराइएको आरोपसमेत लागेको छ। किनभने समाचार प्रकाशन भएकै दिन मंसिर १७ गते उनी प्रहरीकै सुरक्षामा गाउँपालिकाको कार्यक्रममा सहभागी भएका थिए। सोही दिन प्रहरीले पक्राउ नगरेको र नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि मात्र उनी फरार भएको आरोप लगाइएको छ।