नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव नजिकिँदै गर्दा महाधिवेशन गर्दा त्यसले पार्टीभित्र अनावश्यक प्रतिस्पर्धा बढाई निर्वाचनमा नकारात्मक असर पार्न सक्ने बताएका छन्।
मंगलबार पत्रकारहरूसँगको अनौपचारिक भेटघाटमा देउवाले यो विषयमा आफूले पार्टी नेतृत्वलाई सुझाव दिँदै आएको उल्लेख गरे। तर, पार्टीले चाहेमा आफू त्यसमा अवरोध नबन्ने उनको स्पष्टोक्ति थियो।
१५औँ महाधिवेशनमा आफू सभापतिको प्रतिस्पर्धामा नहुने भन्दै देउवाले आफू तटस्थ भूमिकामा रहने बताए। विधानअनुसार पनि आफू उम्मेदवार बन्न नमिल्ने र व्यक्तिगत रूपमा पनि कुनै चाहना नरहेको भन्दै उनले अन्य नेताहरूलाई अघि बढ्न प्रोत्साहन गर्ने बताए।
यसैबिच, देउवाले विशेष महाधिवेशनको सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गरे। विशेष महाधिवेशन गरिए त्यसको प्रक्रिया र विधिलाई लिएर फेरि विवाद सिर्जना हुन सक्ने उनको भनाइ थियो।
उनले नियमित महाधिवेशन भने आपसी सहमतिमा सहज रूपमा गर्न सकिने धारणा व्यक्त गरे।