हलेँसी तुवाचुङ नगरपालिका–८, धितुङमा रहेको स्वास्थ्य चौकीले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ। तत्कालीन गाउँ विकास समिति (गाविस)को पुरानो कार्यालय भवनबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीले सोमबारबाट औपचारिक रूपमा आफ्नै सुविधासम्पन्न भवन पाएको हो
उपभोक्ता समितिमार्फत निर्माण गरिएको स्वास्थ्य चौकीको दुईतले पक्की भवनको भुइँतलामा पाँच तथा माथिल्ला तलामा चार कोठा रहेका छन्। आर्थिक वर्ष ०८१/८२ मा ७२ लाख बजेटमा ठेक्कामार्फत निर्माण सुरु गरिएको स्वास्थ्य चौकी भवनको काम सम्पन्न नभएपछि आर्थिक वर्ष ०८२/८३ मा नगरपालिकाले ३५ लाख ३४३ बजेट विनियोजन गरेर उपभोक्ता समितिलाई निर्माणको जिम्मा दिएको थियो।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयसँगको साझेदारीमा एक करोड सात लाख ३४३ रुपैयाँ लागतमा निर्माण गरिएको स्वास्थ्य चौकी भवन सोमबार नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। भवन उद्घाटन कार्यक्रममा निःशुल्क चार रोपनी जग्गा उपलब्ध गराउने शिवराज राई, एक रोपनी उपलब्ध गराउने स्व. रणशेर राईका जेठा छोरा डिल्ली राई र लामो समय महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका निर्वाह गरेकी इमानसरी राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
पुरानो स्वास्थ्य चौकीको भवनमा सञ्चालित नगर अस्पतालका लागि संघीय सरकारको लगानीमा १५ शय्याको सुविधासम्पन्न अस्पताल भवनसमेत निर्माणको काम भइरहेको छ। निर्माणाधीन अवस्थाको अस्पताल सञ्चालनमा आएपछि हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेँसी आउने धर्मावलम्बी तथा पर्यटकलाई समेत सहज हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।