- २० वटा क्वारेन्टिन, दुईवटा चिकित्सक कक्ष, २२ वटा शौचालय, १५ वटा भान्साघरसहित ५९ वटा ब्लक रहेको संरचना प्रयोगविहीन
कैलालीको त्रिनगर नाकानजिक धनगढी उपमहानगरपालिका– ३, बडहरामा निर्माण गरिएको होल्डिङ सेन्टर लामो समयसम्म प्रयोग नहुँदा जीर्ण बन्न थालेको छ । निर्माण सम्पन्न भएको करिब साढे तीन वर्षसम्म संरचना प्रयोगविहीन अवस्थामा छ । होल्डिङ सेन्टरमा नेपाली सेनाले पहरा दिइरहेको छ ।
कोरोना संक्रमणको महामारी फैलिएका वेला भारतबाट फर्कने संक्रमितलाई राख्न सरकारले २८ करोड ८१ लाख रुपैयाँ लागतमा यो होल्डिङ सेन्टर बनाएको हो । तर, भवन निर्माण सम्पन्न हुँदासम्म कोरोना संक्रमणको अवस्था सामान्य बनिसकेको थियो । त्यसपछि ती संरचना कुन प्रयोजनका लागि प्रयोग गर्ने भनेर सरकारले निर्णय गरेको छैन । ‘होल्डिङ सेन्टरका संरचना जीर्ण बन्न थालेका छन् । सरकारले कुन प्रयोजनमा प्रयोग गर्ने हो, चाँडो निर्णय गरिदिनुपर्यो,’ धनगढी उपमहानगरपालिका– ३ का अध्यक्ष राजबहादुर ऐरले भने, ‘प्रयोगमा नआएर राज्यको करोडौँ लगानी खेर जाने अवस्था बन्दै छ ।’ शैक्षिक तालिम केन्द्र, अस्पतालको कुनै विभाग आदि प्रयोजनमा संरचनाहरू उपयोग गर्न सकिने उनले बताए ।
कोरोना महामारीकालमा भारतबाट फर्कने संक्रमित सीधै घर जाँदा सुदूरपश्चिमका गाउँ–गाउँमा कोरोना फैलिएको थियो । नाकामा परीक्षण गर्दा संक्रमण भेटिएकालाई राख्न तत्काल होल्डिङ सेन्टर आवश्यक भएपछि सरकारले छिटो काम होस् भनेर नेपाली सेनाअन्तर्गत होल्डिङ सेन्टर निर्माण गरेको हो । ०७८ असारमा सम्झौता भएकोमा हनुमान कन्स्ट्रक्सनले एक वर्ष लगाएर होल्डिङ सेन्टर निर्माण गरेको थियो ।
जगभन्दा माथि प्रिफ्याबको भित्ता र टिनको छानासहित छुट्टाछुट्टै ब्लक रहेका होल्डिङ सेन्टर निर्माण गरिएका छन् । २० वटा क्वारेन्टिन, दुईवटा चिकित्सक कक्ष, २२ वटा शौचालय तथा १५ वटा भान्साघरसहित ५९ वटा ब्लक छन् । क्वारेन्टिनका १४ वटा ब्लकमा तीन सयवटा शय्यासमेत राखिएका छन् । जिल्ला प्रशासन कार्यालय, कैलालीले ती संरचना कुन प्रयोजनमा उपयोग गर्ने भन्नेबारे हालसम्म सरकारबाट कुनै निर्देशन नआएको बताएको छ ।
प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार संरचनाको उपयोगबारे सुरक्षा अधिकारीहरूसँग एकपटक छलफल पनि भएको थियो । होल्डिङ सेन्टर अहिले सेनामातहत नै रहेको उनले बताए । ‘कसरी प्रयोग गर्ने भनेर केन्द्रबाट कुनै निर्देशन आएको छैन,’ जोशीले भने, ‘सरकारले निर्णय गरेपछि त्यहीअनुसार उपयोग होला ।’ प्रशासनका अनुसार रक्षा मन्त्रालयको टोलीले एकपटक अनुगमनसमेत गरेको थियो ।
धनगढी आएका वेला तत्कालीन परराष्ट्रमन्त्री आरजु राणाले पनि होल्डिङ सेन्टरको अनुगमन गरेकी थिइन् । नगर प्रमुख गोपाल हमाल र आफूले तत्कालीन रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेटेर होल्डिङ सेन्टर उपयोगमा ल्याउन वा उपमहानगरपालिकालाई दिन आग्रह गरेको वडाध्यक्ष ऐरले बताए । ‘शैक्षिक तालिम केन्द्र, होटेल व्यवस्थापन पठनपाठन वा सेती प्रादेशिक अस्पतालको कुनै एउटा विभाग बनाइदिन आग्रह गरेका थियौँ,’ उनले भने ।