सेकाहामा शुक्रबारदेखि अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

संखुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा भोलि शुक्रबारदेखि अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ।

‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’अन्तर्गत हुन लागेको अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सेकाहा सामुदायिक विकास क्लबका सचिव सलबहादुर गुरुङले बताए।

गुरुङका अनुसार प्रतियोगितामा आयोजक खाँदबारी नगरपालिका, पाँचखपन नगरपालिका, चैनपुर नगरपालिका, सभापोखरी गाउँपालिका, मकालु गाउँपालिका, चिचिला गाउँपालिका, सिलिचोङ गाउँपालिका र भोजपुरको षडानन्द नगरपालिका गरी ८ टिमको सहभागिता रहेको छ। 

महोत्सवको अवसरमा अन्य विभिन्न खेलकुद प्रतियोगिता, नृत्य र बृहत् सांगीतिक कार्यक्रमहरू रहेको आयोजकले जनाएको छ। प्रतियोगिता पुस १५ गते तमू ल्होसारको दिन समापन हुनेछ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ, उपविजेताले ५० हजार तथा सेमिफाइनलिस्ट दुई टिमले नगद २०/२० हजार रुपैयाँ पाउनेछन्। विधागत उत्कृष्टहरूलाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।

महोत्सवको सहआयोजकमा मकालु बरुण बौद्ध गुम्बा रहेको छ भने मुख्य प्रायोजक ४ नं. वडा कार्यालय खाँदबारी नगरपालिका र प्रायोजकमा सिरुपाते ग्लोबल ग्रुप भालुकाभ्रा रहेको छ।

सुझावित समाचार