नेपाली पासपोर्ट प्रयोग गरेर वैदेशिक रोजगारीका लागि साउदी अरेबिया गएको आशंकामा तीन महिला पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले साउदी अरेबियाले निष्कासन गरेका तीन महिलालाई नियन्त्रणमा लिएर छानबिन थालेको हो।
एक दशकअघि उनीहरू साउदी गएका थिए। तर, पछिल्लो समय पासपोर्टको अवधि सकिएको थियो। त्यहाँको सरकारले पक्राउ गरी निष्कासनको प्रक्रिया अघि बढाएपछि नेपाली दूतावासले यात्रा अनुमतिपत्र बनाएर नेपाल पठाएको थियो। मंगलबार नेपाल फर्कने क्रममा अध्यागमनमै उनीहरू पक्राउ परेका हुन्। विमानस्थलमा सोधपुछका क्रममा उनीहरूले नेपालीसमेत बोल्न नसकेको र उनीहरू नेपालीजस्तो पनि नदेखिएपछि छानबिन सुरु भएको हो।
कालीमाया तामाङ, इन्द्रमाया लिम्बू र सानु लामा तामाङका नाममा उनीहरू साउदी अरब गएका थिए। सोही नाममा यात्रा अनुमतिपत्र बनाएर उनीहरू नेपाल आएका हुन्। तर, तीनैजना मुस्लिम पोसाकमा हुनुका साथै नेपालीसमेत बोल्न नसकेपछि नियन्त्रणमा लिइएको अध्यागमन कार्यालयका प्रवक्ता अनुज घिमिरेले बताए।
विगतमा हस्तलिखित राहदानी प्रयोगमा हुँदा नेपाली पासपोर्ट प्रयोग गरेर ठुलो संख्यामा भारतीय तथा बंगलादेशीहरू वैदेशिक रोजगारीमा गएका थिए। यसरी गएकामाथि छानबिन नै नगरी नेपाली दूतावासले यात्रा अनुमतिपत्र बनाएकोमा समेत प्रश्न उठेको छ।