मच्छिन्द्र फुटबल क्लबले सोमबार एन्फा यू–१६ लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबलाई ६–१ ले हराएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको प्रतिस्पर्धामा फराकिलो जितका साथ मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको छ । मच्छिन्द्रको जितमा राहुलकुमार योञ्जन, सुदीप ठकुरी, गोविन्द विक, कोन्जल लामा, प्रज्ञान राई र आर्यभिर सिंहले समान एक गोल गरेका थिए ।
एकपक्षीय खेलमा मच्छिन्द्रले हिमालयनलाई कुनै मौका नै दिएन । जितसँगै मच्छिन्द्रले २३ खेलबाट ५२ अंक जोडेको छ । मच्छिन्द्रको तुलनामा एक खेल कम खेलेको विभागीय टोली नेपाल पुलिस क्लबको ४९ अंक छ । पुलिसले मंगलबार अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्दै छ ।
गत २० असारबाट सुरु भएको लिगका पहिलो चरणका ९१ खेल २६ साउनमा सकिएको थियो । आयोजक एन्फाले पहिलो चरणपछि केही समय लिगलाई विश्राम दिएको हो । २४ साउनमा संकटा र सातदोबाटो युथबिचको १३८औँ खेल भएपछि लिगका बाँकी खेल हुने टुंगो लागेको थिएन । जेन–जी आन्दोलनका कारण एन्फाले यो लिग नै अनिश्चितकालीनका लागि स्थगित गरेको थियो । अन्ततः एन्फाले सहभागी क्लबको सहमतिमा बाँकी खेल सम्पन्न गर्ने गरी गत सातादेखि लिग सुचारु ग¥यो ।
विशालको ह्याट्रिक
जावलाखेल युथ क्लबले सोमबार सातदोबाटो युथमाथि ४–२ को जित निकाल्यो । जावलाखेलको जितमा विशाल शाहीले ह्याट्रिक गरे । उनले खेलको ४५, ५४ र ८१औँ मिनेटमा गोल गरेका थिए । सातदोबाटोका लागि एरिस खत्रीले एक गोल फर्काए । अर्काे खेलमा संकटाले श्रीभगवती क्लबलाई १–० ले हरायो । संकटा र श्री भगवतीबिच पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।