सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न लुम्बिनी सांस्कृतिक नगरपालिकाले डिजिटल अनुगमनको व्यावस्था गरेको छ।
विद्यालय समयमा शिक्षकहरू स्कुल नपुग्ने, बिचमै छाडेर हिँड्ने, विद्यालयमै भए पनि कक्षा कोठामा नजाने र विद्यालर्थीलाई पढाउन चासो नराख्ने शिक्षक कर्मचारीहरूलाई कडाइ गर्न नगरपालिकाको शिक्षा शाखाबाटै सिसिटिभी क्यामेरामार्फत निगरानी गर्न थालेको हो।
नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिप्रसाद ज्ञवालीका अनुसार नगरभित्र रहेको नौवटा माध्यमिक विद्यालयमा सिसिटिभी क्यामेरा जडान गरी निगरानी एवं अनुगमनको व्यवस्था मिलाएको छ। सिसिटिभी क्यामेराबाट शिक्षकहरू के गरिरहेका छन् भनेर हेर्ने मात्र होइन के कुरा गरिरहेका छन्, के पढाइ भैरहेको छ भनेर अडियोसमेत सुन्न सकिने गरी व्यवस्था मिलाएको प्रमुख ज्ञवालीको भनाइ छ।
विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा १० लाख विनियोजन गरी डिजिटल अनुगमनको व्यवस्था मिलाएको नगरपालिकाकी निमित्त नगरप्रमुख कल्पना हरिजनले जानकारी दिइन्।
विगतमा लुम्बिनी सांस्कृतिक नगरपालिकाभित्र रहेका सरकारी विद्यालयहरूले शैक्षिक गुणस्तर सुधार गर्न नसकेको गुनासो आएपछि चालू आर्थिक वर्षदेखि शैक्षिक सुधार कार्यक्रमअन्तर्गत डिजिटल अनुगमन गर्ने सुरु गरेको नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले बताइन्।
सरकारी विद्यालयको ७, ८, ९ र १० कक्षाको रिजल्ट कमजोर भएपछि शिक्षक कर्मचारीहरूको कडाइका लागि नगरपालिकाले दैनिक कार्यालयमै बसेर अनुगमन गर्ने र कार्य प्रगति हेर्ने गरी यो प्रविधि प्रयोगमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताइन्।
विश्वलाई चिनाउने गौतम बुद्धको जन्मस्थल लुम्बिनी रहेको यस नगरपालिका क्षेत्रको शिक्षाको अवस्था हेर्दा चिन्ताजनक रहेको ज्ञवालीको भनाइ छ। दुई वर्षअगाडि ८ कक्षाको अन्तिम परिक्षामा विद्यार्थी उत्तीर्ण शून्य भएपछि नगरपालिकाभित्र रहेका सरकारी विद्यालयले ९ कक्षामा भर्ना गर्ने विद्यार्थी नै पाउन सकेको थिएन। पछि सबै सामुदायिक विद्यालयका शिक्षकहरूले नगरपालिकाको शिक्षा शाखामा पुगी आगामी शैक्षिक सत्रदेखि सुधार ल्याउने प्रतिबद्धता जनाएपछि फेल भएका विद्यार्थीलाई पनि उत्तीर्ण गराएर ९ कक्षामा भर्ना गरिएको थियो।
नगरपालिकाले वडा नम्बर १ खुनगाईमा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालय, वडा नम्बर २ मा रहेको बलरामपुर माध्यमिक विद्यालय, वडा नम्बर ६ मा रहेको तेनुहवा सामुदायिक माध्यमिक विद्यालय, वडा नम्बर ७ मा रहेको कर्महवा माध्यमिक विद्यालय, वडा नम्बर ८ मा रहेको अधियारी माध्यमिक विद्यालय, वडा नम्बर ९ मा रहेको खुदाबगर माध्यमिक विद्यालय, वडा नम्बर १० मा रहेको मधुवनी माध्यमिक विद्यालय, वडा नम्बर ११ मा रहेको मसिनाबाबा नगेन्द्रपुरी मावि, वडा नम्बर १२ मा रहेको आमा माध्यमिक विद्यालयमा सिसिटभी क्यामेरा जडान गरिएको छ।
नगरपालिकामा नौवटा माध्यमिक विद्यालय, १३ वटा निम्न माध्यमिक विद्यालय र १० वटा प्राथमिक विद्यालय गरी ३२ वटा सामुदायिक सञ्चालनमा रहेका छन्।
