शताब्दी घर चिनाउन चित्रकला कार्यशाला

सोमबार, ७ पुष, २०८२
डिजिटल संस्करण

पर्वतको कुश्मास्थित तीन सय वर्ष पुरानो सांस्कृतिक तथा पुरातात्विक घर ‘शताब्दी घर’मा एकदिवसीय ‘कलाको रूपमा सम्पदा’ चित्रकला कार्यशाला सम्पन्न भएको छ।

पछिल्लो समय पर्यटकीय एवं सांस्कृतिक दृष्टिले गन्तव्य बन्दै गइरहेको शताब्दी घरको संस्थागत विकासका लागि कार्यशाला आयोजना गरेको कुश्मा कला परियोजना तथा शताब्दी घरका परिकल्पनाकार आरके अदीप्त गिरीले बताए। धौलागिरि क्षेत्रका पुराना कलाकारसँग नव कलाकारहरूले एकैथलोमा बसेर चित्रकला अनुभव साटासाट गरुन्, कलाको विविधता एकै थलोमा ’डिस्कोर्स’ होस भनेर यसखाले कार्यक्रम आयोजना गरिएको गिरीले बताए।

कार्यशालामा झण्डै दुई सय विद्यार्थी र तीन दर्जन बढी धवलागिरि क्षेत्रका अग्रज– अनुज कलाकारहरुको सहभागिता थियो। कोही पिँढी, कोही आँगन, कोही घरका कोठाचोटा, बार्दलीमा बसेर रङ्ग, कुची र क्यानभाससँग खेल्दै गरेको दृश्य फरक र अद्भूत लाग्थ्यो। शताब्दी घर संरक्षण गरिरहेका गिरीले सोही स्थानमा कला कार्यशाला आयोजना गर्नुको अन्तर्य खुलाए।

‘यो कला कार्यशाला गर्नुको मुख्य औचित्य पछिल्लो पुस्ताले बिर्सिंदै गएका हाम्रा मौलिक कला सँस्कृति र यसले ओगटेका महत्वका चिजलाई संरक्षण र पुस्तान्तरण गर्नुसमेत शताब्दी घरको उद्देश्य रहेको छ। र, हामीले जोगाएका संस्कृति, सभ्यता र सम्पदा भोलि हाम्रा सन्ततिले हेर्ने आँखीझ्याल बन्न सकुन भन्ने आफ्नो चाहाना र कलाकारको सम्मानसहित नयाँ पुस्तालाई चित्रकलामा आकर्षित गर्न कार्यशाला राखिएको हो,’ गिरीले भने। 

कार्यशालामा पर्वत, कुश्माका विभिन्न विद्यालयका झण्डै २०० विद्यार्थी सहभागी थिए। विद्यार्थीले चित्र कोरे। पाकापुराना कलाकारले क्यानभासमा कोरेका आकृति अवलोकन गरे। कार्यशालामा कोरिएका चित्रलाई शताब्दी घरमा सङ्ग्रह गरिने आयोजकको भनाइ छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाडौंको प्राविधिक सहयोगमा संचालित कार्यशालाले धौलागिरी क्षेत्रमा कलाको वातावरण सिर्जना गर्न मद्दत पुर्याउने नाफाका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताए। पछिल्लो समय प्रतिष्ठानले जिल्लास्तरमा ललितकलासँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

सुझावित समाचार