आमाको स्मृतिमा समर्पित सपना आचार्यको दोस्रो कृति ‘उनले छोडेको उज्यालो’ सार्वजनिक

सोमबार, ७ पुष, २०८२
डिजिटल संस्करण

साहित्यकार सपना आचार्यको दोस्रो पुस्तक उनले छोडेको उज्यालो आमाको वार्षिक पुण्यतिथिको अवसर पारेर विमोचन गरिएको छ।  बुटवलमा आयोजित कार्यक्रममा कृतिको विमोचन लेखिकाका पिता कृष्णलाल आचार्यको हातबाट सम्पन्न भयो। 

भावनात्मक र अर्थपूर्ण ढंगले आयोजना गरिएको उक्त कार्यक्रममा बुटवलस्थित मानव सेवा आश्रममा आश्रित वृद्ध आमा–बुबालाई भोजन गराएर पुस्तक सार्वजनिक गरिएको हो।

यसअघि सपना आचार्यको पहिलो उपन्यास मलिलो माटो ०७८ साल फागुन ७ गते  प्रकाशित भएको थियो।सामाजिक यथार्थ र मानवीय संवेदनामा आधारित उक्त कृतिपछि उनले छोडेको उज्यालोमार्फत आचार्यले झन् व्यक्तिगत र आत्मपरक विषयलाई साहित्यिक रूप दिएकी छन्। उनले छोडेको उज्यालो मूलतः आमाको निधनपछिको शोक, रिक्तता र स्मृतिमा आधारित संस्मरण हो।

कृतिमा लेखकले भोगेको व्यक्तिगत पीडालाई मात्र होइन, आमाछोरीबिचको सम्बन्ध, मातृत्वको गहिरो प्रभाव र जीवन–मृत्युको शाश्वत सत्यलाई भावनात्मक, तर संयमित भाषामा प्रस्तुत गरिएको छ। 

आमा भौतिक रूपमा नहुँदा पनि उनले छोडेको संस्कार, ममता र मूल्यबोध कसरी सन्तानको जीवनमा उज्यालो बनेर रहिरहन्छ भन्ने पक्ष कृतिको केन्द्रमा छ।

पुस्तकको भाषा सरल, आत्मीय र संवेदनशील छ। घटनाभन्दा अनुभूतिलाई प्राथमिकता दिइएकाले पाठक भावनात्मक रूपमा कथासँग जोडिन पुग्छ। शोकको अँध्यारोभित्र पनि आशा, चेतना र मानवीय करुणाको उज्यालो खोज्नु यस कृतिको मुख्य विशेषता हो। आमाको स्मृतिलाई केवल विगतको पीडाका रूपमा होइन, जीवनलाई अघि बढाउने शक्ति र प्रेरणाका रूपमा प्रस्तुत गर्नु कृतिको  उल्लेखनीय पक्ष मान्न सकिन्छ।

मानव सेवा आश्रमका वृद्ध आमाबुबालाई भोजन गराएर पुस्तक सार्वजनिक गर्नु स्वयं कृतिको भावभूमिसँग मेल खाने सांकेतिक कार्य हो। सुन्दर कभरमा प्रकाशित भएको उपन्यास आजदेखि बजारमा उपलब्ध छ र पुस्तकको मूल्य ५३३ राखिएको छ ।

सुझावित समाचार