एमाले महाधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न विद्यार्थी संगठनको माग

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी दिप्रुङ चुइचुम्मा गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरूलाई कारबाही गर्न खोटाङका दुई विद्यार्थी संगठनले माग गरेको छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी निकट अनेरास्ववियू खोटाङले शिक्षा विकास तथा समन्वय इकाइ खोटाङमा आज (आइतबार) ध्यानाकर्षण-पत्र बुझाउँदै एमाले महाधिवेशनमा सहभागी शिक्षक तथा कर्मचारीहरूलाई कानुनी कारबाहीको माग गरेको हो । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङका अध्यक्ष डार्विन चाम्लिङ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन खोटाङका सचिव रेसजोन राईले हस्ताक्षर गरेको पत्रमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँमा सञ्चालित समाज सेवा आधारभूत विद्यालयका प्रधानाध्यापक अमृत थापा, शिक्षा शाखाका कार्यरत शिक्षक रनसेर तामाङ र रोजगार संयोजक मुकेश गेलाललाई कारबाही गर्न माग गरिएको छ ।

विद्यार्थी संगठनले कारबाहीको माग गरेका शिक्षक तथा कर्मचारीहरूमध्ये एमाले महाधिवेशनमा सहभागी समाज सेवा आधारभूत विद्यालयका प्रधानाध्यापक अमृत थापाको ‘सिक्री लुटियो’ भन्ने भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। 

नेपालको विद्यमान प्रचलित शिक्षा ऐन, कानुन र आचारसंहिताले शिक्षक तथा कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न हुन निषेध गरेको अवस्थामा दिप्रुङ चुइचुम्मा गाउँपालिकाका शिक्षकहरू एमाले महाधिवेशनमा सहभागी भएको पाइएपछि कारबाहीको माग गरिएको ध्यानाकर्षण-पत्रमा उल्लेख छ। 'यो घटनाले शिक्षकको पेसागत मर्यादा र विद्यालयको शैक्षिक वातावरणमा नकारात्मक असर गरेको हाम्रो ठम्याइ छ,' कार्यालयमा बुझाइएको ध्यानाकर्षण-पत्रमा भनिएको छ, 'घटनाको तत्काल छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाइयोस्। आगामी दिनमा शिक्षाजस्तो पवित्र थलोमा अवाञ्छित राजनीतिक गतिविधि हुन नदिन यो ध्यानाकार्षण-पत्र पेस गर्दछौँ।'

विद्यार्थी संगठनले बुझाएको ध्यानाकर्षण-पत्र बुझ्नुहुँदै निमित्त कार्यालय प्रमुख नन्द विश्वकर्माले कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाएका छन्। 'यो विषयमा गुनासाहरू यसअघि पनि आएका थिए। आज विद्यार्थी संगठनले ध्यानाकर्षण-पत्र बुझाएको छ,' उनले भने, “विद्यार्थी संगठनले बुझाएको ध्यानाकर्षण-पत्र सम्बन्धित निकायमा पठाइसकेका छौँ। यो घटनाको विषयमा सम्बन्धित स्थानीय तहसँग पनि सोध्छौँ।' 

उता, गाउँपालिका प्रमुख लोकेन्द्र राईले भने, शिक्षक तथा कर्मचारीहरू एमालेको महाधिवेशनमा नभई कार्यालयको काममा गएको दाबी गरेका छन्। 'समाज सेवा आधारभूत विद्यालयका प्रधानाध्यापक अमृत थापा शुक्रबार काठमाडौं पुगेको बुझिएको छ। शनिबार एमालेको महाधिवेशन उद्घाटन भएकाले रमिता हेर्न गएका रहेछन्,' उनले भने, 'गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरू कोही पनि एमाले महाधिवेशनमा सहभागी भएका छैनन्। काठमाडौंमा भएको बेला कार्यक्रममा पुगेर फोटो खिचाए होलान्। त्यो उनीहरूको स्वतन्त्रता हो।'

सुझावित समाचार