लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

सिराहाको लहान नगरपालिकाले विपन्न र गरिब परिवारलाई खाद्य सामग्रीसहितको राहत वितरण गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२, भोटियाटोलमा बिरामीले थलिएर निधन भएका हुकमा सदाय, वडा नम्बर १  मटियर्वाका संजय सदाय र वडा नम्बर ३ बिहारपुरका लिखनीदेवी सदायको परिवारलाई आइतबार जनही पाँच हजार नगदसहित एक क्विन्टल चामल, पाँच किलो दाल, दुई लिटर तेल र नुन तथा फाइबरको सिरक वितरण गरेका हुन् ।

ज्याला मजदुरी गरेर हातमुख जोड्दै आएको विपन्न परिवारमा कसैको मृत्यु भएको खण्डमा मजदुरी रोकिँदा भोकभोकै पर्न सक्ने अवस्था नआवस् भनेर नगरपालिकाले सहयोग गरेको नगर प्रमुख चौधरीको भनाइ छ । ‘नगरपालिकाले दिएको राहत सामग्रीले धेरै दिन खान त पुग्दैन,’ उनले भने, ‘कम्तिमा काजकिरिया नसकुञ्जेल काममा जान नपाउने भएकाले भोकभोकै बस्न नपरोस् भन्ने उद्देश्यले वार्षिक कार्यक्रम बनाएर राहत बाँड्न थालिएको हो ।’ 

चौधरीले निवाचित भएलगत्तै आर्थिक वर्ष ०७९/०८० देखि नै मुसहर समुदाय र अति विपन्न परिवारमा कसैको मृत्यु भएमा किरिया खर्चका लागि नगद पाँच हजार रुपैयाँसहित खाद्य सामग्री वितरण गर्दै आएका छन् । उनकाअनुसार नगर क्षेत्रका २४ वटै वडा क्षेत्रमा अहिलेसम्म मुसहर र अति विपन्न परिवारका पाँच सयभन्दा बढी मृतकका परिवारलाई खाद्य सामग्रीसहितको राहत सामग्री वितरण गरिएको छ। 

गर्भवती सुत्केरीलाई ‘पोषण प्याकेज’ 
गरिब, दलित तथा विपन्न परिवारका गर्भवती महिला र गर्भमा रहेका शिशु तथा सुत्केरी महिलालाई कुपोषण हुनबाट जोगाउन नगरपालिकाले ‘पोषण प्याकेज’अन्तर्गत हरेक महिनाको २२ गते चामल, दाल, नुन, चना, तेल, मटरलगायतका खाद्य सामग्री वितरण गरिरहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको स्वास्थ्य शाखाका सिअहेव अधिकृत रामानन्द चौधरीका अनुसार सम्बन्धित वडा कार्यालय र स्वास्थ्य चौकीको रेकर्डको आधारमा सुत्केरी तथा गर्भवतीहरूलाई खाद्य सामग्री वितरणलाई निरन्तरता दिइएको हो। 

गर्भावस्था र सुत्केरी भएपछि पोषणयुक्त खानेकुरा खानुपर्ने भए पनि मजदुरी गरेर जीविका चलाउने गरिब, विपन्न परिवारमा पेटभरि दुई छाक खानसमेत नपाउने भएकाले नगरले दिएको खाद्य सामग्रीले केही राहत मिल्नेछ। यसपछि घरमा काम गर्न सक्नेले कमाएर थप जोहो गर्न सक्ने नगरप्रमुख चौधरीले बताए।
 

सुझावित समाचार