कोशी प्राइड लिग फागुनमा, सात टिमका मालिक सार्वजनिक

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

कोशी प्राइड प्रालिले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना गर्ने भएको छ। आइतबार काठमाडौंको दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता ९ देखि २१ फागुनसम्म सुनसरीमा हुने जानकारी गराइएको हो।

प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान)ले स्विकृति दिएको छ भने कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ। केपिएलका निर्देशक अफजल हुसैनले प्रतियोगितामा सात टिमको सहभागिता रहने बताए। उनले पत्रकारसम्मेलनमार्फत नै टिमका मालिक पनि सार्वजनिक गरेका छन्।

प्रतियोगिताको लागि नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेष्ट थन्डर्स, बिएन कोशी अर्नाज् र गोर्खा एभेन्जर्स सहभागी हुने छन्।

नमुना ब्लास्टर्सका मालिक धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सका कल्पित ढकाल, विर्तामोड हिट्सका मालिक अनुराग प्रमानिक तथा प्रतिनिधिमा जीवनकुमार यादव छन्। त्यस्तै, पूर्वेली सुपर किंग्सको मालिक संजोक राणा, महेन्द्र मैनाली, सन्तोष तिमल्सिना, रविन विष्ट र सन्देश सिंदेल हुन्।

एभरेष्ट थन्डर्सको मालिक आकाश खड्का हुन्। बिएन कोशी अर्नाजको मार्कीमा मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सबाट विजय खड्का, पुजन बाबु भट्टराई, किरण खड्का, अमर्दीप सापकोटा मार्कि र रघुनाथ सापकोटा मालिक हुन्। 

प्रतियोगिताका लागि एक टोलीमा १८ खेलाडी राख्नैपर्ने नियम छ। जसमा एक मार्की, एक आइकोनिक, तीनजना ड्राफ (जो राष्ट्रिय टिमका हुनेछन्), क्याटगोरी ‘ए’का तीन, क्याटगोरी ‘बी’का दुई तथा क्याटगोरी ‘सी’का एक खेलाडी रहनेछन्।

आयोजक कोशी प्राइड प्रालिले चाँडै प्रतियोगिताको अक्सन मिति घोषणा गर्ने बताएका छन्। अक्सनका लागि आयोजकले खुल्ला खेलाडी दर्ता प्रक्रिया सुरु गरिसकेको छ। खेलाडीले आफ्नो नाम दर्ता माइपे एपबाट गर्न सक्नेछन्। अक्सनमा क्याटगोरी ‘ए’को मूल्य न्युनतम ४५ देखि ६५ हजारसम्म, क्याटगोरी ‘बी’को लागि २५ देखि ४५ हजारसम्म तथा क्याटगोरी ‘सी’को मूल्य पाँच हजारदेखि २५ हजारसम्म तोकिएको छ।

सुझावित समाचार