पर्साको विन्दवासिनी गाउँपालिकामा सामाजिक परिचालक कार्यक्रमअन्तर्गत करार सेवामा भर्ना भएका रमेन्द्रनाथ तिवारीको धमाधम बढुवा भएपछि अख्तियारमा उजुरी परेको छ।
स्थानीय तहमा समायोजन भएर गाउँपालिकामा कार्यरत रहेका तिवारीको तीन वर्षको अवधिमा धमाधम पाँचौँ तहसम्म बढुवा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो।
पालिकाका कर्मचारीहरूका अनुसार सामाजिक परिचालक कार्यक्रमअन्तर्गत भर्ना भएर पाँचौँ तहको सेवा उपयोग गर्दै आएका तिवारीको बारेमा गत साउन २८ मा अख्तियारको हेटौँडा कार्यालयले पालिकासँग जवाफसहित कागजात माग गरेको छ।
‘...सँगै नियुक्ति भएका अन्य तीनजना सामाजिक परिचालक पदमा नै कामकाज गर्दै आइरहेका छन्। निजहरूको बढुवा नभएको र रमेन्द्रनाथ तिवारीको ऐन–कानुनविपरीत बढुवा गरेको भन्नेसमेत व्यहोराको उजुरीको सम्बन्धमा के–कसो भएको हो ?’ अख्तियारको पत्रमा भनिएको छ।
सामाजिक परिचालकबाट बढुवा भएका तिवारीको नियुक्ति कसरी भएको र कुन ऐन–कानुनअनुसार भएको भन्दै अख्तियारले जवाफ मागेको छ। कर्मचारी स्रोतका अनुसार पालिका अध्यक्ष प्रमोद तिवारीको आफन्त भएकै कारण सामाजिक परिचालक तिवारीको धमाधम बढुवा भएको हो।
यसबारेमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्मद प्रवेश आलमले रायसहितको कागजात अख्तियारमा पठाएकाले बोल्न नमिल्ने प्रतिक्रिया दिए। अख्तियारले माग गरेको जानकारी गोप्य रूपमा पठाइएकाले मिडियामा बोल्न नमिल्ने आलमले बताए।