जिल्लाको रोशी गाउँपालिकाभित्रका उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मानित भएका छन् । एसइई परीक्षा ०८० र ०८१ मा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी र परीक्षामा विषयगत रूपमा औसतमा उच्च ग्रेड ल्याउने सम्बन्धित विषय शिक्षकलाई नगदसहित सम्मान गरेको हो ।
शुक्रबार रोशी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता समापन कार्यक्रमको अवसरमा उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गरेका हन् । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइबा, प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी र शिक्षा शाखा प्रमुख ठाकुरप्रसाद दाहालले संयुक्त रूपमा सम्मान गरेका थिए ।
एसइई परीक्षामा सामुदायिक विद्यालयबाट साधारणतर्फ प्रथम, द्वितीय र तेस्रो हुनेलाई र प्राविधिकतर्फ प्रथम हुने विद्यार्थीलाई सम्मान गरेका थिए । एसइई परीक्षा ०८० मा ३.७२ जिपिएसहित मंगलजन विजय माध्यमिक विद्यालयकी छात्रा प्रतिमा यादव प्रथम भएकी थिइन् । उनले नगद ४० हजारसहित प्रमाणपत्र प्राप्त गरेकी थिइन् । त्यसरी, नै ३.३४ जिपिए ल्याई पोक्रा माध्यामिक विद्यालयका छात्र भानुभक्त विक द्वितीय र ३.३१ जिपिए ल्याई रोशी माध्यामिक विद्यालयकी छात्रा भुवनेश्वरी गौतम तृतीय भएकी थिइन् । उनीहरुलाई क्रमशः ३० हजार र २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए । प्राविधिकधारतर्फ ३.६३ जिपिए ल्याई लक्ष्मीनारायण माध्यामिक विद्यालयकी छात्रा प्रतिमा थापा प्रथम भएकी थिइन् । उनले नगद ४० हजारसहित प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।
यस्तै एसइई परीक्षा ०८१ मा ३.६१ जिपिए प्राप्त गरी मंगलजन विजय माध्यमिक विद्यालयका छात्र निशान खरेल प्रथम भएका थिए । उनले नगद ४० हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए । यस्तै ३.६ ल्याई भुमेस्थान माध्यामिक विद्यालयकी छात्रा अञ्जली लामा द्वितीय र ३.५४ जिपिए ल्याई हरिसिद्धि माध्यामिक विद्यालयकी छात्रा निमा तामाङ तृतीय भएकी थिइन् । उनीहरूले क्रमशः ३० हजार र २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका थिए । एसइई परीक्षा ०८१ मा ३.६७ जिपिए ल्याई लक्ष्मीनारायण माध्यामिक विद्यालयकी छात्रा वन्दना खत्री प्राविधिकधारतर्फ प्रथम भएकी थिइन् । उनले ४० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।
कार्यक्रममा एसइई परीक्षा ०८१ मा विषयगत रुपमा औषतमा उच्च ग्रेड ल्याउने सम्बन्धित विषय शिक्षकलाई नगदसहित सम्मान गरेका थिए ।