२१औँ शताब्दीको सुरुवातसँगै सूचना प्रविधिले फड्को मार्यो । कुनै वेला रहस्यको रूपमा रहेको पृथ्वीको हरकुना मानिसको सहज पहुँचमा पुग्यो । सूचनाप्रविधिले पृथ्वीलाई गाउँको रूपमा परिणत गरिदियो । प्रविधिका कारण मानिसको जीवनयापन पनि सहज हुँदै गयो । तर, मानवीय जीवनमा प्रविधिले सहजता मात्रै थपेन, केही जटिलता पनि सँगै लिएर आयो । प्रविधिका कारण आधुनिक विश्वमा अनेकन चुनौती थपिए । ती चुनौतीमध्ये सामाजिक सञ्जालबाट बालबालिका हिंसा अन्त्यन्तै मुखर भएर आएको छ । त्यसमध्ये लैंगिक रूपमा बालिकाहरू झन् धेरै हिंसामा परेका छन् ।
सामाजिक सञ्जालका भित्ताहरूमा मुस्कुराउँदै फोटो अपलोड गर्ने सबै बालिकाहरू भित्रैबाट खुसी नहुन सक्छन् । उनीहरू अनस्क्रिन खुसी देखिए पनि अफस्क्रिन हिंसाको ठुलो घनले थिचिएका हुन सक्छन् । प्रहरीको तथ्यांकले प्रविधिमार्फत बालिकाहरू झन् पछि झन् प्रताडित हुँदै गएको देखाएको छ । अझ समाजशास्त्रीहरू त भन्दैनन्,‘पितृसत्तात्मक समाजका कारण बालिकाहरू घरभित्रै पीडित भइरहेका छन् ।’
बालिकाहरू कसरी हिंसामा परिरहेका छन् ? तलका केही उदाहरण हेरौँ :
फेसबुकमा बालिका ‘ए’ र जीवनकुमार साह साथी बन्छन् । साथी भई कुराकानी गर्ने क्रममा साहले म्यासेन्जरमा बालिकालाई प्रलोभनमा पारी भिडियो कलमा नग्न हुन बाध्य बनाउँछन् । संवेदनशील अंग देखाउन पनि लगाउँछन् । साहले उक्त फोटो तथा भिडियो रेकर्ड गर्छन् । ती अश्लील फोटो तथा भिडियो फेक फेसबुक अकाउन्ट बनाएर फेसबुकमा अपलोड गरिदिन्छन् । आफूले नजिक मानेका साथीले यस्तो डरलाग्दो व्यवहार गरेपछि पीडित बालिकाले परिवारलाई घटनाबारे बताउँछिन् । त्यसपछि परिवारको सहायतामा साइबर ब्युरो पुग्छिन् । बालिकाको निवेदनका आधारमा ब्युरोले कात्तिक १७ गते सिराहाका २२ वर्षीय साहलाई प्रकाउ गर्छ । र अनुसन्धान अगाडि बढाउँछ ।
०००
सामाजिक सञ्जाल स्न्याप च्याटमा बालिका ‘बी’ र आयुष कुँवर साथी बन्छन् । २० वर्षीय आयुषले ‘बी’लाई फकाइफुल्याई अश्लीलता प्रदर्शन गर्न लगाउँछन् । र ‘बी’लाई प्रलोभनमा पारी बाध्य बनाएर भिडियो रेकर्ड गर्छन् । उक्त कुरा बालिकाले आफ्नो अभिभावकलाई बताउँछिन् । त्यसपछि अभिभावक ब्युरो पुग्छन् । अभिभावकको निवेदनपछि आयुष प्रकाउ पर्छ । काठमाडौं महानगरपालिका वनस्थली बस्ने उनलाई गत माघ २९ गते प्रहरीले प्रकाउ गरेर अनुसन्धान गर्यो ।
०००
त्यस्तै, अर्को घटनामा बालिका ‘सी’ र मो. जे अजवानको चिनजान सामाजिक सञ्जाल फेसबुकमा हुन्छ । त्यसपछि अजवानले बालिकालाई अश्लील फोटो र भिडियो पठाउन थाल्छन् । सोहीअनुसारको क्रियाकलाप गर्न बाध्य पारी रेकर्ड गर्छन् । त्यसपछि सामाजिक सञ्जालमार्फत नै ती क्रियाकलाप सार्वजनिक गरिदिन्छु भनी मानसिक यातना दिन थाल्छन् । अति नै भएपछि उनले यो हैरानी आफ्नी आमालाई सुनाउँछिन् । छोरीको कुरा सुनिसकेपछि आवश्यक कारबाहीका लागि उनकी आमाले ब्युरोमा निवेदन दिन्छिन् । बागबजार बस्ने २० वर्षको अजवानलाई पक्राउ गरी गत वर्षको साउनमा आवश्यक अनुसन्धान अगाडि बढाइन्छ । यस्ता थुप्रैै घटनाका निवेदन ब्युरोमा दिनप्रतिदिन बढ्न थालेका छन् ।
यो समस्या नेपालमा मात्रै होइन । ‘चाइल्डलाइट डट ओआरजी’को अनुसार एक वर्षमा तीन करोडभन्दा धेरै बालबालिका प्रविधिमार्फत यौन हिंसामा पर्छन् । त्यसमध्ये बालिका धेरै पीडित हुन्छन् । चाइल्डलाइटले यसलाई अदृश्य महामारीको रूपमा परिभाषित गरेको छ । उक्त संस्थाले दक्षिण एसियाका १२.५ प्रतिशत बालबालिका १८ वर्ष नपुग्दै बलात्कार वा यौनहिंसा भोग्न बाध्य हुन्छन् ।
प्लान इन्टरनेसनलले गरेको एक अध्ययनअनुसार ५८ प्रतिशत केटीहरूले अनलाइनमा यौन दुर्व्यवहार भोग्छन् । ३१ देशका करिब १४ हजार बालिकामा गरिएको अध्ययनले यस्तो देखाएको हो । भारतको बाल संरक्षण आयोगले २०२२ मा गरेको एक सर्वेक्षणले सहरी क्षेत्रका ४० प्रतिशतभन्दा बढी बालबालिका कुनै न कुनै रूपमा अनलाइन उत्पीडनमा पर्ने गरेका छन् । भारतको राष्ट्रिय अपराध रेकर्ड ब्युरोले सन् २०२३ मा गरेको अध्ययनले अघिल्लो वर्षको तुलनामा अनलाइन दुर्व्यवहारका घटनाहरूमा १४ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा १६ देखि २० प्रतिशत हाई स्कुल पढ्ने विद्यार्थीले साइबर बुलिङको अनुभव गर्छन् । डिजिटल प्रविधिमार्फत कसैलाई धाकधम्की दिने, चोट पुर्याउने, कमेन्ट गर्ने, डर देखाउनेजस्ता काम पर्छन् ।
बढ्दै हिंसाका घटना
साइबर ब्युरोका अनुसार आर्थिक वर्ष ०७५/७६ मा जम्मा ३५७ उजुरी मध्ये बालिकाहरूको दुर्व्यवहारका घटना १० थियो । त्यो संख्या वृद्धि हुँदै ०७६/७७ मा ८८ जना बालिका दुर्व्यवहारमा परे । ०७७/७८ मा १५२ जना, ०७८/७९ मा १४२, ०७९/८० मा १३०, ०८०/८१ मा ३८२, ०८१/८२ मा ४२१ जना बालिका दुर्यवहारमा परिसकेका छन् ।
ब्युरोका अनुसार बालिकाहरू फेसबुक, भाइबर, इमो, युट्युब, ह्वाट्सएप, विच्याट, एक्स, इस्न्टाग्राम, टेलिग्राम, गुगल, टिकटक, इमेल, स्न्यापच्याटलगायत प्रविधिका माध्यमबाट हिंसा र दुर्व्यवहारमा पर्ने गरेका छन् । ब्युरोको अनुसार सबैभन्दा धेरै हिंसा र ठगी फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएपको माध्यमबाट हुने गरेको छ ।
ब्युरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार पछिल्लो समय डिजिटल हिंसामा पर्ने बालिकाको संख्यामा दिन प्रतिदिन वृद्धि भइरहेको छ । ‘प्रविधिमार्फत अरू महिला पुरुष त हिंसामा परेका छन् नै । बालिकासमेत हिंसामा पर्ने घटना बढिरहेका छन्,’ अवस्थी भन्छन्, ‘हिजो मात्र पनि ११ वर्षकी बालिका यौन दुर्व्यवहारमा परेको घटना दर्ता भएको छ ।’ उनका अनुसार प्रविधिमार्फत हुने सबै प्रकारका हिंसा रोक्न प्राथमिकतामै राखेर प्रहरीले काम गरिरहेको छ ।
साइबर टिप्स अर्थात् सुरक्षा भनेर ब्युरोले आफ्नो वेब साइटमै केही बुँदाहरू राखेको छ । भनिएको छ : अप्रत्याशित लिंक तथा चिट्ठा पर्यो भनी आएका मेल/लिंकहरूको विश्वासमा परी क्लिक नगरौँ । विदेशबाट गिफ्ट आयो, भन्सार कटाउने भनी गिफ्ट/आइफोनको फोटो देखाए रकम माग गरेमा समेत विश्वासमा नपरौँ । आफ्नो गोप्य फोटो/भिडियो, तथा व्यक्तिगत जानकारी जोकोहीसँग सेयर नगरौँ । आकर्षक रोजगारी पाउनका लागि उल्टा आफूले रकम लगानी गर्न लगाउने प्रलोभनका पछि नलागौँ । फेसबुकमा स्पोन्सर्ड भनी आउने अनलाइन जागिर तथा प्रलोभनको पछि नपरौँ । चिनजानकै व्यक्तिबाट मेसेजमा च्याट गरी रकम माग गरेमा कल गरी यकिन गरौँ । ह्याक भएको आइडी हुन सक्छ । सुरक्षित पासवर्ड प्रयोग गरौँ, समय–समयमा परिवर्तनसमेत गरौँ । सम्भव भएसम्म अनलाइन खाताहरूमा टु एफए वा एमएफए प्रयोग गरौँ । यो भनेको पासवर्डसँगै ओटिपीसमेत हो । सार्वजनिक स्थानमा उपलब्ध फ्री वाइफाईमा बैंकिङ कारोबार वा संवेदनशील जानकारी आदानप्रदान नगरौँ । कम्प्युटर/ल्यापटपलाई समय–समयमा अपडेट गरौँ, विश्वसनीय एन्टिभाइरस प्रणाली प्रयोग गरौँ । जरुरी विवरण तथा डाटाको नियमित ब्याकअप गर्ने गरौँ पोर्टेबल हार्डडिस्क, क्लाउडलगायत । बालबालिकाहरू, घरपरिवारका सदस्य प्रविधिको प्रयोग तथा अनलाइनमा हुन सक्ने खतराका बारेमा कुराकानी गरौँ ।
यी सुरक्षाका टिप्स ब्युरोले वेबसाइटमा त राखेका छन् । तर, ती टिप्सको पहुँच कतिसमक्ष पुग्यो जानकारी छैन । ब्युरोमा विभिन्न किसिमका नग्न तस्बिरका व्यक्तिको अनुहार जोडी अनलाइन प्रविधिमा राख्ने, अश्लील फोटो–भिडियो सामाजिक सञ्जालमार्फत प्रकाशित गर्ने, सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने, दु:ख दिने, सरकारी तथा अन्य संघ–संस्थाहरूको वेबसाइट ह्याक गर्ने, चिट्ठा अपुतालिक बोनसबारे स्क्याम गर्नेजस्ता उजुरी धेरै पर्ने गरेका छन् ।
समाज महिलामैत्री नहुँदाको परिणाम
आज पनि नेपाली समाजको मूल चरित्र पितृसत्ता नै हो । जसका कारण हाम्रो घर, कार्यालय, श्रमबजार, कर्मक्षेत्र, राजनीतिक पार्टी, सरकार महिलामैत्री छैनन् । हाम्रा चलनचल्ती, सोच, व्यवहार सबै महिलाविरोधी छन् । महिलामैत्री समाज नहुँदाको थुप्रैमध्ये एउटा परिणाम, प्रविधिमार्फत बालिका हिंसामा पर्नु हो । समाजशास्त्री मीना पौडेलका अनुसार आपराधिक मानसिकता भएकाहरूले प्रविधिको प्रयोग गरेर बालिकालाई दुर्व्यवहार गर्ने, सताउने, अप्ठ्यारोमा पार्नुले महिला, बालिका असुरक्षित रहने समाजको चरित्र चरितार्थ भएको हो । ‘नेपाली समाज यति विषाक्त छ, यहाँ महिलालगायत विभिन्न जाति, धर्मलगायतलाई बाँच्न गाह्रो छ,’ उनी भन्छिन् ।
उनी घरभित्रै महिला, बालिका असुरक्षित हुने अवस्थामा प्रविधिले ल्याएका प्लाटफर्ममा त्यस्ता घटना हुनु स्वाभाविक भएको बताउँछिन् । ‘महिला, बालिका, युवतीका लागि सबैभन्दा असुरक्षित ठाउँ परिवार नै बनेका छन्,’ समाजशास्त्री पौडेलले भनिन्, ‘परिवारभित्रैबाट प्रविधिको प्रयोग गरेर आफ्ना छोरीहरू, दिदीबहिनीहरूलाई सताइएको पाइन्छ । समाज महिलामैत्री नभएपछि यसरी प्रविधिमार्फत प्रहार भइरहेको छ ।’
बालिकाहरूमध्ये सीमान्तमा पारिएकाहरू अझै धेरै पीडित भएको पौडेल बताउँछिन् । ‘सीमान्तकृत जातिभित्रका किशोरी धेरै प्रताडित छन् । धर्मका आधारमा गरिने सीमान्तकृत धर्मका बालिका प्रताडित छन् । पहिचानका आधारमा गरिने विभेदभित्रका बालिका झनै प्रताडित छन् । जति कमजोर, सीमान्तकृत बालिका छन्, त्यति नै धेरै प्रहार हुने गर्छ,’ उनी थप्छिन्,‘लैंगिकताभित्र पनि जातीयता, संस्कृति, वर्ग, समाज, भूगोल, उमेर सबैको हिसाबले थप प्रहारलाई माहोल बनाइदिएको छ ।’
दिनप्रतिदिन बढ्दै गएको डिजिटल हिंसा रोक्ने मुख्य भूमिका सरकारकै हुने भएकाले नपुग कानुन बनाएरै भए पनि काम गर्नुपर्ने उनको मत छ । उनका अनुसार परिवारको संरक्षकत्वमा रहने बालिका आफैँ निर्णय गर्न सक्दैनन् । परिवारकै कारण समेत बालिका हिंसामा पर्ने हुनाले हाम्रो पारिवारिक संरचनाको चिरफार गर्नुपर्छ । नागरिकलाई सचेत बनाउने शिक्षा प्रणाली बनाउनुपर्छ ।
‘सबैभन्दा नजिक र सबभन्दा धेरै विभेद हुने भनेको परिवारमै हो । हाम्रो पारिवारिक संरचना त्रुटिपूर्ण छ । त्यसैले हाम्रो समाजको पारिवारिक संरचनालाई चिरफार गरेर हेर्नुपर्छ,’ समाजशास्त्री पौडेल भन्छिन्,‘समाजले बालिकालाई हेर्ने दृष्टिकोण पनि त्रुटिपूर्ण छ । पक्षपाती छ । त्यसैले, एउटा तहमा मात्र काम गरेर हुँदैन । नीति बनाएर मात्र हुँदैन । सामाजिक चेत, बालिकालाई हेर्ने दृष्टिकोण, सामाजिक उत्तरदायित्व, राज्यको उत्तरदायित्व र अभिभावकको उत्तरदायित्व सबै कुराको भूमिका रहन्छ ।’ उनका अनुसार सबैभन्दा नजिक हुने भनेको अभिभावक हुन्, अभिभावकको सबैभन्दा धेरै भूमिका हुन्छ । बालिकाहरू स्कुल जान्छन् । खेल्न जान्छन् । साथीसँग हिँड्छन् । त्यसलाई नजिकबाट हेर्नुपर्छ ।
‘संरचनागत रूपमा हेर्ने हो भने शिक्षा प्रणाली र शिक्षामार्फत दिइने ज्ञान नै त्रुटिपूर्ण छ । त्यसलाई फेर्नुपर्छ । राज्यले ‘बालिकालाई हिंसा गर्न पाइँदैन, हिंसा गरे थुनिदिन्छु’ भनेर मात्र हुँदैन । समग्र शिक्षा प्रणाली रूपान्तरणमुखी र समाजमा रहेका सबै जाति, धर्म, लिंग, पहिचानलाई समान दृष्टिले हेर्ने शिक्षा हुनुपर्छ । हाम्रो शिक्षाले चेतना दिँदैन । सामाजिक चेत बढाउने खालको शिक्षा हुनुपर्छ,’ उनी भन्छिन् ।
प्रयोगकर्ता बढे, सुरक्षा सिकाइ भएन
२०७८ राष्ट्रिय जनगणनाअनुसार नेपालमा ३७.८ प्रतिशत घरमा इन्टरनेटको पहुँच छ । ७३ प्रतिशतको हातमा स्मार्ट फोन पुगेको छ । तर प्रविधिमार्फत हुने हिंसा, दुर्व्यवहार, हैरानीबारे सबैले खुलेर अझै बोल्दैनन् । सामाजिक सञ्जालबाट भएका हैरानी गुपचुपमै ठुलो भएका घटनासमेत देखिएको साइबर ब्युरो बताउँछ ।
संयुक्त राष्ट्रसघंका अनुसार विश्वभर हरेक आधा सेकेन्डमा एकजना बालबालिका पहिलोपटक अनलाइनमा आइरहेका छन् । यसले बालबालिका प्रविधितर्फ रफ्तारमा उन्मुख भइरहेको देखाउँछ । शिक्षित र प्रविधिबारे जानकार नै अनलाइन हिंसा र दुव्र्यहारमा परेको तथ्यांक डरलाग्दो हुँदै गएको वेला बालिका झन् कति पीडित भइरहेका होलान् यहीँबाट आकलन गर्न सकिन्छ । यसको चित्र भयावह रूपमा हाम्रो अगाडि आउँछ ।
समाजशास्त्री पौडेलजस्तै ‘डिजिटल राइट्स नेपाल’का कार्यकारी निर्देशक अधिवक्ता सन्तोष सिग्देल पनि पछिल्लो समय बालिका हिंसा बढ्नुको कारण पितृसत्ता भएको स्वीकार गर्छन् । ‘हाम्रो समाज पितृसत्तामा आधारित छ । लैँगिक भूमिका पित्तृसत्ताकै आधारमा छुट्याइएका छन् । त्यो पितृसत्ताले अफलाइन मात्र होइन, अनलाइनमा पनि प्रभाव पार्छ । किनकि अफलाइनको प्रतिबिम्ब हो अनलाइन । समाजमा हुने घटना, व्यवहार त्यहाँ पनि प्रतिबिम्बित हुन्छ,’ सिग्देल भन्छन् । उनी पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या बढ्दै गएको, तर सोहीअनुसार ज्ञानको कुरा, सुरक्षाका कुरामा काम हुन नसकेरै प्रविधिमार्फत बालिका हिंसा बढेको दाबी गर्छन् ।
‘डिजिटल सेफ्टी कसरी अपनाउने भन्ने सिकाइ छैन । अझै पनि इन्टरनेटमा के–के गर्नुहुन्छ ? के–के गर्नुहुँदैन ? भन्ने सामान्य जनचेतनको कमी छ,’ सिग्देल भन्छन्,‘प्रविधिमा सबैलाई सहज पहुँच छ । तर, सुरक्षित कसरी रहने ?, व्यवहार कसरी गर्ने भन्ने सुरक्षाका उपायबारे जानकारी भएन ।’ डिजिटल राइट्समा लामो समयदेखि काम गर्दै आएका उनी प्रविधि अधिकारको विषयमा सरकार र संघ–संस्थाको प्रयास अपर्याप्त भएको बताउँछन् ।
सिग्देलका अनुसार सामाजिक सञ्जाललाई नियमन गर्ने सरकारी निकायले काम गरिरहेको छैन । त्यसकारण प्रविधिमार्फत हुने नकारात्मक कुराले थप प्रश्रय पाउने जोखिम बढेको छ । ‘सामाजिक सञ्जाल निर्देशिका लागू छ । लागू भए पनि सामाजिक सञ्जाल दर्ता नभइकनै चलिरहेको छ । परिणाम, लैंगिक हिंसा, बालिका हिंसा, अरू हिंसा बढ्दै गएका छन्,’ सिग्देल भन्छन् ।
उनी नेपाली समाजको चरित्रअनुसार बालिका हिंसाको, जुन तथ्यांक बाहिर आएका छन् त्योभन्दा धेरै डरलाग्दो अवस्था हुन सक्ने बताउँछन् । ‘प्रहरीमा गएका उजुरी अन्तिममा बाध्य भएर गएका उजुरी हुन् । हिंसाको संख्या त्योभन्दा ठुलो हुन सक्छ । हाम्रोजस्तो पीडितलाई नै दोष दिने समाज भएका कारण उनीहरूले समस्या बाहिर ल्याउँदैनन्,’ उनी भन्छन्, ‘यस्ता खालका खराब क्रियाकलाप कम गर्न सरकार, प्लाटफर्म, नागरिक समाज, बौद्धिक वर्ग, अभिभावक सबै जागरुक हुन जरुरी छ ।’ समाजशास्त्री पौडेल बालिकालाई साइबर सुरक्षाका कुरा, अनलाइन व्यवहारका कुरा सिकाउनुपर्ने र सरकारले पनि यस्ता प्लाटफर्मलाई नियमन गर्नु जरुरी रहेको बताउँछिन् । ‘नयाँ कुरा प्रयोग गर्दै छौँ भने त्यसको हानि हुन सक्छ । जोखिम पनि हुन सक्छ । त्यसैले बालिकालाई नै जागरुक बनाउनुपर्यो । उसलाई पढाउने विद्यालयले साइबर सुरक्षाका कुरा, अनलाइन व्यवहारका कुरा सिकाउनुपर्यो । सरकारले यस्ता प्लाटफर्म नियमनका लागि कानुन बनाउनुपर्यो । त्यो कानुनको कार्यान्वयन पनि गर्नुपर्यो ।’