जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटाङबजारमा ‘खोटेहाङ साहित्य महोत्सव– २०८२’ सुरु भएको छ । साहित्यको माध्यमबाट सामाजिक रूपान्तरण गर्ने उद्देश्यसहित खोटेहाङ प्रज्ञा–प्रतिष्ठान, खोटेहाङ गाउँपालिका खोटाङले खोटाङबजारमा दुईदिने साहित्यिक महोत्सव आयोजना गरेको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाडौंको सहकार्यमा आयोजना गरिएको महोत्सवको उद्घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभाले कविता वाचन गरेर गरेका थिए । खोटेहाङ गाउँपालिकाको सभाहलमा आयोजित महोत्सवमा माध्यमिक तहका विद्यार्थीका लागि कविता प्रतियोगिता, बाल साहित्य तथा बालमनोविज्ञानबारे विचार–विमर्श, ‘मुन्दुम र जोसमनी दर्शन, कति नजिक कति टाढा’ विषयक विचार गोष्ठी, ‘अर्थ–राजनीतिक दृष्टिकोणबाट बसाइँसराइको कारण न्यूनीकरणको उपाय’ विषयक विचार गोष्ठी तथा बृहत् कविता गोष्ठीको आयोजना गरिएको छ ।
महोत्सवमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, अर्थ–राजनीतिक विश्लेषक हरि रोका, नेपाल प्रज्ञा–प्रतिष्ठानका समालोचना तथा साहित्य इतिहास विभाग प्रमुख डा. मधुसूदन गिरी, नेपाल प्रज्ञा–प्रतिष्ठानका दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारी, मुन्दुम अध्येता भोगिराज चाम्लिङ, कवि एवं लेखक कविता राईलगायतको सहभागिता रहेको छ । महोत्सवको पहिलो दिन गाउँपालिकाभित्रका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीका लागि कविता प्रतियोगिता आयोजना गरिएको खोटेहाङ प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष इन्द्र नारथुङ्गेले जानकारी दिए ।
नेपालमा बाल साहित्यको अवस्थाबारे नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभा, सदस्यसचिव डा. धनप्रसाद सुवेदी, प्राज्ञ डा. मधुसूदन गिरीको मन्तव्य राखिएको छ । यस्तै, बसाइँसराइका कारण र न्यूनीकरणको उपाय शीर्षकमा अर्थ–राजनीतिक विश्लेषक हरि रोकाले प्रस्तुत गर्ने कार्यपत्रमा सामाजिक अध्येता टंक थापा र शैक्षिक अभियन्ता सूर्यबहादुर राईले टिप्पणी गर्ने जनाइएको छ ।
महोत्सवमा मुन्दुम अध्येता भोगिराज चाम्लिङले प्रस्तुत गर्ने ‘मुन्दुमको विश्व दृष्टिकोण’ शीर्षकको कार्यपत्रमा कवि एवं शैक्षिक अभियन्ता नरेन्द्र निर्विकारले टिप्पणी गर्नेछन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारीको जोसमनी दर्शनसम्बन्धी विचार प्रस्तुत गर्ने जनाइएको छ ।
महोत्सवमा किराँत मुन्दुम र जोसमनी दर्शनको निकटताबारे समेत विमर्श गरिने आयोजकले जनाएको छ । खोटेहाङ गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित महोत्सवमा कवि नरेन्द्र निर्विकार, केशव कार्की, कविता राई, आस्था कोपिला, भोगेन एक्ले, जीवन आरोही, भीम राई, भूमिराज मरुभूमि, ज्ञानदीप चाम्लिङ राई, नीरस एसके पीडित, नीराजन भण्डारी, भगवती शर्मा, कृष्णश्री राई, रोशन पौडेल, भुवन गाउँलेलगायतले आ–आफ्नो कविता वाचन गर्ने आयोजकले जनाएको छ ।
महोत्सवमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रूपेश राई, जन्तेढुंगा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’, बराहपोखरी गाउँपालिका प्रमुख सालिकराम बञ्जरा, जिल्लास्थित साहित्यकारहरूलगायतको उपस्थिति रहेको छ । जिल्लाको पुरानो सदरमुकाम खोटाङबजारमा आयोजना गरिएको महोत्सवमा साहित्यिक क्षेत्रका मूर्धन्यहरूको सिर्जना वाचनले गुन्जयमान भएको छ ।