सात तालको बगैचा शहर पोखराको लेखनाथमा बिहीबारदेखि हुने २१ औँ संस्करणको लेखनाथ महोत्सव ०८२ को तयारी पूरा भएको छ । ३–१४ पुससम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले मंगलबार महोत्सवस्थलमा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।
महोत्सवको आयोजकमा लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ एवं गृहलक्ष्मी ग्यास कम्पनी रहेका छन् भने । बिएलसी गु्रप (नर्भिक हस्पिटल), पशुपति बिस्कुट र हेटौँडा डेरी सह–प्रायोजन रहेको छ ।
जेन–जी आन्दोलनबाट प्रभावित उद्योग, व्यवसायलाई प्रवद्र्धन गर्ने, वर्तमान विषम आर्थिक अवस्थाकाबिच व्यवसायी र आम उपभोक्ताको खस्किएको मनोबल उच्च बनाउँदै स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सव आयोजक मूल समारोह समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् । क्रेता, बिक्रेता र उपभोक्ताबिचको साझा थलोका रुपमा विकाससँगै ‘अनौपचारिक विश्वविद्यालय’ का रूपमा स्थापित गर्ने लक्ष्यसमेत आयोजकको रहेको उनले बताइन् ।
प्रचार-प्रसार संयोजक ध्रुवबाबु भटृराईका अनुसार ३३५ स्टल रहने महोत्सवमा विशेष आकर्षणका रूपमा जलपरी प्रदर्शन रहने भएको छ । थप आकर्षणको रूपमा गौतम बुद्धको प्रतिमासहितको पर्यटन प्रवर्द्धन कार्यक्रम, विजनेस टक सो, मोटिभेसनल स्पिच, जातजातिको रीतिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, बाल उद्यान, खाना महोत्सवलगायत रहेका छन्। महोत्सवको दुई लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र नौ करोडबराबरको आर्थिक कारोबार हुने अपेक्षा आयोजकको रहेको उनले बताए।