आइटिएफ वर्ल्ड टेनिस टुर : नेपालकी सिभालीले हात पारिन् दोहोरो उपाधि

आइतबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

नेपालकी सिभाली गुरुङले आइटिएफ वर्ल्ड टेनिस टुर जे३० पोखरामा दोहोरो उपाधि हात पारेकी छिन्। कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा सम्पन्न आठौँ संस्करणको टुरअन्तर्गत सर्किट १ र २ का खेलमा दोहोरो उपाधि हात पार्दै १४ वर्षकी सिभालीले आफ्नो उमेर समूहमा इतिहास बनाएकी हुन्।

जनवरीमा आयोजना हुने अस्ट्रेलियन ओपन इलाइट ट्रफीको समेत तयारीमा रहेकी सिभालीले यसअघि सम्पन्न सर्किट १ को खेलमा समेत दोहोरो उपाधि जितेकी थिइन्। उनले सर्किट २ मा समेत दोहोरो उपाधि हात पार्दै ७५ अंक जोड्न सफल भइन्।

सर्किट २ को गर्ल्स एकलतर्फको फाइनलमा ताइपेइकी के–ची सुलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरेकी थिइन्। गर्ल्स डब्बल्सतर्फ सिभाली र ताइपेईकी के–ची सुको जोडीले भारतकी तेजस्वी मन्नेनी र न्युजिल्यान्डकी बोइदेही उकिललाई ६–२ र ६–१ ले सोझो सेटमा पराजित गरेका थिए।

ब्वाइज सिंगल्समा ताइपेईका नं १ सिडिङ खेलाडी टिङ हो याङले उपाधि हात पार्ने क्रममा कोरियाली खेलाडी युल हो जुङलाई पराजित गरेका थिए। पहिलो सेट जुङले ६–४ ले र दोस्रो सेट ६–४ ले याङले आफ्नो पक्षमा पारेका थिए। तेस्रो सेट जारी रहदा जुङ रिटायर्ड हर्ट हुँदै मैदान छोडेपछि याङले उपाधि हात पारेका थिए। 
ब्वाइज डबल्सको उपाधि कोरियाली जोडी ह्यो जिन हा र युल हो जुङको जोडीले हात पार्ने क्रममा भारतीय जोडी प्रतीक शेओरन र अनुज अभिजित तशिलदारलाई ६–३ ७–६ (४) ले पराजित गरेका थिए ।

दुई साता चलेको टुरमा नेपालसहित १६ देशका गरी ८० खेलाडीले प्रतिस्पर्धा गरेका थिए। विजेता खेलाडीहरूलाई नेपाल टेनिसका उपाध्यक्ष विनोद कायस्थ, सचिव अजय विष्ट, कास्कीका अध्यक्ष राजकुमार गुरुङलगायतले मेडल वितरण गरेका थिए।
 

सुझावित समाचार