स्तरोन्नति हुँदै गरेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक खण्डको काम छिटो सक्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्देशन दिएका छन्। आइतबार सडक खण्डको स्थलगत निरीक्षणका क्रममा मन्त्री घिसिङले काम छिटो सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन्।
राजमार्गअन्तर्गत पर्ने पोखरादेखि आँबुखैरेनीसम्मको करिब ८१ किलोमिटर सडक खण्डलाई दुई प्याकेजमा विभाजन गरी पूर्वी र पश्चिम खण्ड नाम दिएर स्तरोन्नतिको काम भैरहेको छ। पूर्वी खण्डमा आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर र पश्चिम खण्डमा जामुनेदेखि पोखरासम्मको ३८.८८ किलोमिटरको क्षेत्रलाई तोकिएको छ।
पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको काम निकै सुस्त गतिमा भैरहेको छ। स्थलगत निरीक्षणका क्रममा मन्त्री घिसिङले यसअघि जेजस्तो भए पनि अब काममा ढिलाइ नगर्न र निर्धारित मितिमा काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन्। उनले काममा केही समस्या भए सहजीकरणका लागि आफू र मन्त्रालय तयार रहेको भन्दै अब कुनै पनि बहानामा ढिलाइ नगर्न निर्माण कम्पनीलाई भने।
आगामी पुस १६ सम्म म्याद रहेको पश्चिम खण्डमा हाल भौतिकतर्फ ५९.७६ प्रतिशत र वित्तीयतर्फ ४७.८० प्रतिशत काम भएको आयोजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए। यस खण्डमा पर्ने ३८.८८ किलोमिटरमध्ये ३७.४ किलोमिटर एकतर्फी, त्यसमध्ये २९.६१ किलोमिटरमा चार लेन र ७.७९ किलोमिटरमा दुई लेन कालोपत्र सम्पन्न भएको छ। १२ मध्ये ११ पुलको निर्माण सकिएको र सेती नदीमा पुल निर्माणको क्रममा छ। यसैगरी कल्भर्ट ६५ वटा, नाला ४५.२ किमि निर्माण सम्पन्न भैसकेको छ।
चीनको यनहुई काइयुन हाइवे एन्ड ब्रिजले पश्चिमतर्फको काम १२ भाद्र ०८१ सम्म सक्ने गरी ३ जेठ ०७८ मा सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा सम्झौता गरेको थियो। समयमा काम नसकिएपछि पहिलोपटक २१ मंसिर ०८१ सम्म गरी सय दिन र दोस्रो पटक १६ पुस ०८२ सम्मका लागि म्याद थप गरिएको थियो।
घुमाउने पुलको काम एक महिनाभित्र सुरु नगरे ठेक्का तोड्ने
सोही क्रममा मन्त्री घिसिङले तनहुँ र चितवन जोड्ने गरी निर्माण थालिएको ‘घुमाउने पुल’को काम एक महिनाभित्र सुरु नगरे ठेक्का तोड्ने चेतावनीसमेत दिएका छन्। लामो समयदेखि निर्माण कम्पनीले काम नगर्दा उक्त पुल हाल अलपत्रजस्तै बनेको छ।
तनहुँको आँबुखैरेनी गाउँपालिका– ५ र चितवनको भरतपुर महानगरपालिका– २९ जोड्ने गरी त्रिशूली नदीमाथि ११ वर्षअघि निर्माण सुरु गरिएको यो पुल डिजाइन परिवर्तनका कारण काममा ढिलाइ भएको हो। उनले सडक विभागका प्रतिनिधिहरूलाई समेत छिटोभन्दा छिटो निर्माण सुरु हुने गरी काम गर्न निर्देशन दिए।
असार २०७० मा हेटौँडाको मृत सञ्जीवनी निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको यो पुल निर्माणमा पटक-पटक म्याद थप र डिजाइन परिवर्तनपछि चैत ०७८ मा सम्पन्न गर्ने गरी माघ २०७५ मा पुनः सम्झौता भएको थियो। नौ करोड ५६ लाखको लागतमा १०५ मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माणको काम हाल ५० प्रतिशतको हाराहारीमा मात्र सम्पन्न भएको छ।