थारू समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका चटाई पट्की, गोरी ढकिया र गुन्द्रीलगायतका हस्तकला सामग्री निर्माणको लागि बर्दियाका थारू महिलालाई सातदिने तालिम दिइएको छ। मधुवन नगरपालिका–१, डल्लामा थारू समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका चटाई पट्की, गोरी ढकिया र गुन्द्रीलगायत हस्तकला सामग्री निर्माणका लागि थारू समुदायका महिलालाई सातदिने तालिम दिइएको हो।
गत आइतबार सुरु भएको हस्तकला सामग्री तालिममा डाइनिङ टेबलमा राख्ने थाल चकटी, रोटी राख्ने हटकेस, कलमदानी, ढकिया, फूलदानी, फुठ बास्केटलगायत सामग्री बनाउन सिकाएको प्रशिक्षक रामकुमारी चौधरीले बताइन्।
आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रका कार्यक्रम संयोजक विश्वास चेपाङले वनसँगको निर्भरता घटाउने, आदिवासीको परम्परागत ज्ञान तथा सिपको संरक्षण र प्रवर्द्धन गर्ने र महिलाको आयआर्जन गरी आत्मनिर्भर बनाउन पनि तालिमको आयोजना गरिएको बताए। उनले आदिवासी जनजातिसँग पहिलादेखि परम्परागत रूपमा कुनै न कुनै ज्ञान र सिप छ। त्यसलाई व्यावसायिक रूपमा गरी स्वरोजगार हुनुपर्नेमा जोड दिए।
स्थानीयस्तरमा खेर गइरहेको कच्चा पदार्थको प्रयोग गरेर निर्माण गरिएको हस्तकलाको सामग्री बिक्री-वितरण तथा बजारीकरण गर्न पालिकाले सहयोग गर्ने मधुवन नगरपालिका नगरप्रमुख तेजबहादुर भाटले बताए। उनले भने, ‘तालिममा सहभागी भएर सिकेको ज्ञान तथा सिपलाई फुर्सदको समयमा हस्तकला सामग्री बनाउनुहोस्। त्यसका लागि पालिकाले के सहयोग गर्नुपर्छ भन्नुहोस् पालिका सहयोग गर्न तयार छ।’
आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र बर्दियाकी फिल्ड अफिसर रमिला चौधरीले मधुवन नगरपालिका–१, डल्लाका २६ जना महिलालाई गोरी ढकिया तालिम दिइएको र ठाकुरबाबा नगरपालिका–९ का २५ महिलालाई चटाई पट्की र गुन्द्री बनाउने तालिम दिइएको जानकारी दिइन्।