ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहान नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा चितवन भरतपुरका नगर प्रमुख रेनु दाहाल पनि सहभागी थिइन्। मन्त्री घिसिङले कार्यतालिकामा तय गरिएका माइलस्टोन हासिल गरि ठेक्का सम्झौता बमोजिमकै समय तालिकामा निर्माण सम्पन्न गर्न निर्देशन दिए ।
उनले नमुना परियोजनाको रुपमा उदाहरणीय रुपमा प्रस्तुत हुने गरि कार्य अघि बढाउन निर्माण कम्पनीसँग आग्रह गरे । चितवनको नारायणगढ र नवलपुरको गैडाकोट जोड्ने उक्त पुल ४२० मिटर लम्बाइको रहने छ । पूर्वपश्चिम राजमार्गलाई नारायणी नदीमा जोड्ने उक्त पुल १ अर्ब ६९ करोड लागतमा निर्माण सुरु भएको हो। पुलको निर्माण कार्य यही मंसिर महिनाबाट सुरु गरिएको हो । मनसुन सुरु हुनुअघि नै पुलको पाएल फाउन्डेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पूलको निर्माण २०८४ जेठ भित्र सम्पन्न गर्ने कार्यतालिका रहेको छ। यो पुलको मुख्य विशेषताको रुपमा दुई ठुला पाइलोन कन्क्रिट टावरमा स्टे केबलबाट पुलसडकलाइ सपोर्ट गर्ने सिस्टम रहेको छ । यो पुल बनेपछि नारायणी नदीमा पुल मुनीबाट ठूलाठूला पानी जहाज पनि चलाउन मिल्ने गरि निर्माण डिजाइन गरिएको हो । निर्माणको ठेक्का पाएको तुँदी निर्माण कम्पनीले मंसिको पहिलो सातादेखि फिल्डको काम सुरु गरेको जनाएको छ ।

‘अहिले नारायणी नदीमा पुल निर्माण गर्न नारायणगढतर्फ पाइलिङको तयारी भइरहेको छ,’ प्रोजेक्ट म्यानेजर इन्जिनियर मञ्जिल मिश्रले भने ‘बर्खा अगाडि नै डेकुरेशनको काम सक्ने योजनाका साथ काम अगाडि बढाएका छौँ ।’ एक अर्ब ६८ करोडमा ठेक्का पाएको निर्माण कम्पनीले ३६ महिनाभित्र सक्नेगरी काम अगाडि बढाएको छ । प्राकृतिक प्रकोप नआए बर्खा अगाडि नै नारायणी नदीको दुई वटा पिलरको डेकुरेशनको काम सकिने मिश्रले जानकारी दिए ।
यहाँ अत्याधुनिक प्रविधियुक्त दुई लेनको पुल निर्माण हुने छ । अब बन्ने पुलको आयु कम्तीमा एक सय वर्ष हुने छ । २०३८ सालमा निर्माण भएको अहिलेको पुलको आयु ७० वर्ष तोकिएको छ । २०३८ सालअघि नारायणी नदीमा फेरीको सहायताले यातायातका साधन वारपार गराइन्थ्यो। अहिलेको नारायणी पुल जिर्ण बन्दै गएको छ। नारायणी नदीमा अहिले भएको पुलको समानान्तर हुने गरी (जोडेर) ४२० मिटर लामो ‘सिग्नेचर पुल’ निर्माण गरिने छ। यसको ११ मिटर चौडाइ हुनेछ । सिग्नेचर पुलअन्तर्गत आर्चब्रिज, केबल नेटवर्किङ आर्च, सस्पेन्सन लगायतका संरचना पर्छन् ।
सो पुलमा साइकल लेन समेत निर्माण हुनेछ। नयाँ पुलमा दुई ठाउँमा टावर राखिनेछ यो पुलमुनिबाट पानी जहाज सञ्चालन गर्न सकिने बताइएको छ। अब महेन्द्र राजमार्ग पनि फराकिलो हुने र त्यसपछि पुल पनि फराकिलो चाहिने हिसाबले नयाँ पुल बनाउन लागिएको हो। पुलको शिलान्याश तत्कालिन प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले वि.स. २०८१ बैशाख ३१ गते गरेका थिए । यसैगरी मन्त्री घिसिङले नारायणी तटबन्दको विषयमा पनि जानकारी लिएका थिए।