लहानमा विद्यालयको चारकोठे भवन उद्घाटन

शुक्रबार, २० मंसिर, २०८२
डिजिटल संस्करण

सिराहाको लहान नगरपालिका– १२, पडरिया थारूटोलस्थित श्री माविको चारकोठे दुईतले नवनिर्मित भवनको उद्घाटन भएपछि दैनिक पठनपाठन सहज भएको छ।

लहानका नगर प्रमुख महेशप्रसाद चौधरीले शुक्रबार आयोजित समारोहबिच रिबन काटेर भवनको उद्घाटन गर्दै विद्यार्थीका लागि सुरक्षित वातावरणमा पढ्न पाउने अधिकारका लागि नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताए।

पूर्व–पश्चिम लोकमार्ग खण्डमा पर्ने लहानको नमुना विद्यालयको रूपमा विकास गर्ने गरी संघीय सरकारसँगको साझेदारीमा भवन निर्माण गरिएको उनले बताए। उनका अनुसार गरिब र विपन्न परिवारका विद्यार्थी पढ्ने ११ वटा सामुदायिक विद्यालयमा गत आर्थिक वर्ष ०८१/८२ देखि स्टेसनरी वितरण भइरहेको छ। ‘चालू आर्थिक वर्षदेखि नगरका ५९ वटै विद्यालयमा पढ्ने हरेक विद्यार्थीलाई स्टेसनरी सामान दिँदैछौँ,’ उनले भने।

लहान– १२ का वडाध्यक्ष बद्रीनारायाण चौधरीले नगरपालिकाको निरन्तरको सहयोगले विद्यालय भौतिक पूर्वाधार, शैक्षिक गतिविधि र पढाइमा अब्बल बन्दै गएको बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेदीलाल चौधरीले नगरको सहयोगमा विद्यालयले अंग्रेजी तथा नेपाली माध्यममा पढाइ सुरु गरेपछि आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाइरहेका अभिभावकहरू पनि छोराछोरीको भनाइका लागि यहाँ आउन थालेको बताए।

विद्यालयका प्रधानाध्यापक मनोजकुमार यादवका अनुसार संघीय सरकार र नगरपालिकाको साझेदारीमा ५५ लाख ९६ हजार ७६५ रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो। काठमाडौंस्थित रोशन राजु कन्स्ट्रक्सन कन्सल्टेन्सी एन्ड सप्लायर्सले गत फागुनदेखि निर्माण थालेको भवन करिब १० महिनाको अवधिमा सम्पन्न भएको नगरपालिकाका इन्जिनियर धीरेन्द्रकुमार राउतले जानकारी दिए।

सुझावित समाचार