नेपालमा कला–चिकित्साबारे बुझाउँदै पोल्यान्डकी कारोलिना

शुक्रबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

कारोलिना एना बस्को पोल्यान्डमा जन्मे–हुर्किएर बहुसांस्कृतिक समाज–कार्य र शान्ति निर्माणको अध्ययन गरी विभिन्न देशमा मनोसामाजिक काममा संलग्न भइसकेकी कला विशेषज्ञ हुन्। पोल्यान्डबाट नेपाल आएर पाँच वर्षदेखि जिडिजेडमा शान्तिदूतका रूपमा कार्यरत उनी कला–चिकित्सक पनि हुन्। 

नेपाल आएपछि यहाँको सांस्कृतिक र भावनात्मक विविधतालाई नजिकबाट बुझेको कारोलिना बताउँछिन्। उनी आजभाेलि सामाजिक परामर्शदाता, स्वास्थ्यकर्मी र सामुदायिक कार्यकर्ताहरूलाई समुदायस्तरसम्म पुगेर कला–चिकित्साको महत्त्वबारे बुझाउँदै छिन्। कलामार्फत गरिने उपचारलाई नेपालमा परिचित र प्रवर्द्धन गर्ने उनको चाहना छ।

‘सानैदेखि कलाचित्रहरू बनाउँथेँ। ठुलो भएपछि पनि मैले त्यो साेखलाई निरन्तरता दिएँ। आफ्नै घरमा कला स्टुडियो बनाएँ। तर, आफन्त  र समाजका धेरैले मलाई यस्तो काममा किन समय खर्चिरहेको भनेर गाली पनि गर्थे। तर, मैले आफनो शोखलाई बिस्तारै कला चिकित्सामा बदलेँ,’ उनले भनिन्। पीडितहरूको समस्या पत्ता लगाएर उपचार गराउन यो विधि अति नै सहयोगी रहेको उल्लेख गर्दै उनले भनिन्, ‘अहिले नेपालमा म कला–चिकित्सा (आर्ट–थेरापी)बारे बुझाउँदै हिँड्दै छु।’

नेपालमा कला–चिकित्सा किन आवश्यक छ त ? कारोलिना भन्छिन्, ‘भावनाहरू सबैका हुन्छन्, तर व्यक्त गर्न सबैलाई कहाँ सजिलो हुन्छ र !’ उनका अनुसार नेपालमा मनोवैज्ञानिक समस्या, सामाजिक आघात, हिंसा, विपत् र द्वन्द्वका दाग अझै ताजा छन्। ‘धेरैलाई मन खोल्न गाह्रो पर्छ। त्यसैले चित्र, रंग, संगीत, कथा–वर्णन र सिर्जनात्मक गतिविधिबाट उनीहरूलाई उपचारको अति नै खाँचो हुन्छ,’ उनी भन्छिन्।

कला–चिकित्साको उपचारले तनाव, ट्रमा, भय, एक्लोपन, हिंसाबाट उत्पन्न चोटजस्ता समस्यामा चामत्कारिक सहजता आउँछ भन्ने उनको अनुभव छ। उनको भनाइमा कला एउटा अभिव्यक्ति मात्र नभएर उपचार विधि पनि हो। ‘यसले मनका घाउ नदबाई शान्त पार्न सहयोग पर्छ,’ उनले भनिन्।

आर्ट–थेरापिस्ट कारोलिना सामाजिक मनोविमर्शकर्ताहरूसँग हातेमालो गर्न चाहन्छिन्। यसैले पछिल्लो समय उनी नेपालका सामाजिक मनोविमर्शकर्ता (सोसल साइको काउन्सलर) कार्यकर्ता, महिला समूह, शिक्षक र स्थानीय परामर्शदाताहरूसँग घनिष्ठ रूपमा काम गरिरहेकी छिन्।

कारोलिनाका अनुसार कला–चिकित्साभित्र समूहगत चित्रकला, भावनात्मक रंग–अभिव्यक्ति, स्टोरी थेरापी, शरीर–आधारित सिर्जनात्मक अभ्यासजस्ता विधिहरू पर्छन्। उनी प्रशिक्षणमा यिनै कुराहरूमा जोड दिन्छिन्।

आफ्नो पीडालाई शब्दमा व्यक्त गर्न नसक्नेहरू कागज र रंगमार्फत बोल्न सक्छन् भन्ने उनको विश्वास छ। नेपालको भौगोलिक, सामाजिक र मनोवैज्ञानिक वास्तविकताले पनि कला–उपचारलाई अत्यन्त महत्त्वपूर्ण बनाउन सहयोग गर्ने उनी बताउँछिन्। किनभने नेपालमा विपत्, हिंसा, द्वन्द्व र गरिबीबाट सिर्जित दीर्घकालीन आघातले धेरै पीडित छन् र यो क्रम विद्यालय, महिला, बालबालिका र कमजोर वर्गमा बढ्दो छ।

कारोलिना कला–थेरापीलाई समुदायस्तरमै गएर प्रदान गर्न  सकिने व्यावहारिक र सुरक्षित उपचार पद्धति हो भन्छिन्। तर, उनी नेपालमा प्रशिक्षित मनोपरामर्शदाताको कमी देख्छिन्। त्यसैले समुदायस्तरमा कला–चिकित्सालाई पुर्याउन उनले प्रयास गर्न थालेकी हुन्। उनी भन्छिन्, ‘आर्ट–थेरापी सबैको पहुँचयोग्य बन्यो भने कम लागतमा मनोवैज्ञानिक समस्या पत्ता लगाएर उपचार गर्न सहज हुन्छ।’

सुझावित समाचार