कपासेभञ्ज्याङको राष्ट्रिय विभूति पार्क सञ्चालनमा

शुक्रबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

खोटेहाङ गाउँपालिका– २, वाप्लुखास्थित पर्यटकीयस्थल कपासेभञ्ज्याङमा निर्माण गरिएको ‘राष्ट्रिय विभूति पार्क (उद्यान)’ सञ्चालनमा ल्याइएको छ। गाउँपालिकाको रु. ७० लाख लगानीमा निर्माण गरिएको राष्ट्रिय विभूति पार्क किराँत समुदायको महान् चाड साकेला उँधौलीको अवसर पारेर बिहीबार औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। 

राष्ट्रिय विभूति पार्क उद्घाटन कार्यक्रममा बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रमसमेत आयोजना गरिएको थियो । नेपालका सबै (१८ जना) राष्ट्रिय विभूतिहरूको मूर्ति राख्ने गरी गोलो घेराभित्र निर्माण गरिएको पार्क गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रूपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले झन्डाेत्तोलनसहित मूर्ति अनावरण गरेर औपचारिक रूपमा सञ्चालनमा ल्याएका हुन्।

प्राकृतिक रूपमै पर्यटकीयस्थल रहेको कपासेभञ्ज्याङको चौतर्फी विकास गर्नका लागि स्थानीय साने विश्वकर्माको नेतृत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ। ‘सेल्मे–कपासे–हलहले पर्यटन प्रवर्द्धन समिति’ नाम दिइएको उक्त समितिले भौतिक पूर्वाधार निर्माणका साथै प्रवर्द्धनको काम गरेको हो। 

किराँत समुदायको महान् चाड साकेला उँधौली/उँभौली तथा साउनेसंक्रान्तिको भोलिपल्ट राँके मेलासमेत लाग्ने कपासेभञ्ज्याङमा स्थानीय बासिन्दाको आफ्नै लगानीमा ८७ घरपरिवार अट्ने एकीकृत बस्तीसमेत निर्माणाधीन अवस्थामा छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको सेभञ्ज्याङलाई प्रवर्द्धन गर्दै बाह्य पर्यटकसमेत भित्र्याएर आर्थिक उपार्जनको माध्यम बनाउने उद्देश्यले भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको वडाध्यक्ष पारस राईले बताएका छन् ।  

बहुउद्देश्यीय पर्यटन पार्क (उद्यान) निर्माण गर्ने उद्देश्यले काम थालिएको कपासेभञ्ज्याङमा यसअघि नेपाल सरकार पर्यटन मन्त्रालय र तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश) सरकारबाट रु. २०/२० लाख बजेट उपलब्ध गराएको थियो । निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको कपासेभञ्ज्याङमा खोटेहाङ गाउँपालिका र टेम्के मैयुङ गाउँपालिकाले सडक निर्माण, खानेपानी, बजार व्यवस्थापन, खेलमैदान तथा पोखरी निर्माणलगायतमा लगानी गरेको छ ।  

करिब तीन हजार रोपनी सार्वजनिक जग्गा रहेको उक्त ठाउँमा अल्लो प्रशोधन केन्द्र र आलु भण्डारण गृहसमेत निर्माणाधीन अवस्थामा छ । कृषि ज्ञान केन्द्र खोटाङले समन्वय गर्ने गरी बहुवर्षीय योजनाअन्तर्गत प्रदेश सरकारबाट प्राप्त बजेटमार्फत आलु भण्डारण गृहको काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । 

सात वर्षअघिदेखि पर्यटन प्रवर्द्धनको काम थालिएको कपासेभञ्ज्याङमा भोजपुरको टिटिएस सहकारी संस्थासँगको सहकार्यमा पन्ध्र हजार चियाको बिरुवासमेत रोपिएको छ । टिटिएस सहकारी संस्थाले निःशुल्क उपलब्ध गराएको चियाको बिरुवा स्थानीय बासिन्दाको सक्रियतामा २५ रोपनी खाली जग्गामा लगाइएको हो । 

कपासेभञ्ज्याङलाई प्रमुख पर्यटकीयस्थलको रूपमा विकास गर्ने योजनाका साथ आसपासको क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीयस्थलहरूको समेत प्रवर्द्धन गर्ने काम भइरहेको गाउँपालिका प्रमुख मुक्तिले बताए । ‘कपासेभञ्ज्याङलाई बहुउद्देश्यीय क्षेत्रका रूपमा विकास गर्ने अवधारण बनाएका छौँ । स्थानीय तहको मात्रै लगानीले पर्याप्त नहुने भएकाले प्रदेश र संघीय सरकारसमक्ष समेत आवश्यक बजेटको माग गरिएको छ,’ उनले भने, ‘कपासेभञ्ज्यालाई नेपाल सरकारले तोकेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने मुन्दुम ट्रेलसँग जोड्ने गरी योजना बनाएका छौँ । यसले गाउँपालिकाको आन्तरिक आम्दानीको स्रोतसमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।’

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणपूर्वी क्षेत्रमा पर्ने पर्यटकीयस्थल कपासेभञ्ज्याङको प्रवर्द्धनमा तीनवटै तहका सरकारले चासो देखाएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । प्राकृतिक रूपले रमणीय कपासेभञ्ज्याङबाट उच्च हिमशृंखला, तराईका विभिन्न फाँट तथा खोटाङ र भोजपुरको सदरमुकामसमेत स्पष्ट देख्न सकिने स्थानीयवासी एवं नेपाली कम्युनिस्ट पार्टी खोटेहाङ गाउँपालिका अध्यक्ष दीपेन थुलुङले जानकारी दिए।  

गुराँस पार्कको नामले समेत चिनिने कपासेभञ्ज्याङमा बौद्ध धर्मावलम्बीको चैत्यहरूसमेत रहेका छन् । बर्सेनि पूजाआजा गरिने तीनकन्या देवीको थान तथा पोखरीसमेत रहेको उक्त पर्यटकीयस्थलका प्राकृतिक संरचनामा क्षति नपुर्याई स्तराेन्नति गर्ने काम भइरहेको पर्यटन प्रवर्द्धन समितिले जनाएको छ ।   

कपासेभञ्ज्याङको पर्यटन प्रवर्द्धनका लागि बृहत्तर विकास गर्न रु. नौ करोड २२ लाखबराबरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थानको पर्यटन प्रवर्द्धनका लागि भौतिक पूर्वाधार निर्माणमा करिब रु. एक करोड २२ लाख लगानी भइसकेको गाउँपालिकाले जनाएको छ । 

सुझावित समाचार