मकवानपुरको थाहा नगरपालिकाले ऐतिहासिक तीनवर्षे इन्द्रायणी जात्राको अवसरमा शुक्रबार नगरपालिकामा सार्वजनिक बिदा दिने भएको छ। नगर कार्यपालिकाको ३० कात्तिकमा बसेको बैठकले जात्राको दोस्रो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता हिरेन्द्रकुमार रायमाझीले जानकारी दिए।
करिब ३५० वर्षदेखि मनाइँदै आएको इन्द्रायणी जात्रा थाहा नगरको इन्द्रायणी चौरमा लाग्ने सबैभन्दा पुरानो र ऐतिहासिक मेला मानिन्छ। पूर्वका दामन र पालुङ क्षेत्रका नेवार तथा देउला समुदायसँग सांस्कृतिक रूपमा प्रत्यक्ष जोडिएको यो जात्रा तान्त्रिक विधि विधानअनुसार सञ्चालन गरिन्छ।
इन्द्रायणी भगवती कालाभैरव गुठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठका अनुसार जात्राको पूजाविधि तथा आवश्यक तयारी पूरा भइसकेको छ। जात्राको मुख्य आकर्षण मानिने खाली रथ मंसिर शुक्ल द्वादशीका दिन देउला गाउँस्थित इन्द्रायणी बस्तीबाट पालुङ ल्याइने परम्परालाई यसपालि पनि निरन्तरता दिइएको छ।
जात्राको विशेष दिनमा इन्द्रायणी, कुमारी, कालाभैरव र गणेशका रथारोहण गरिन्छ। धार्मिक आस्था, सांस्कृतिक पहिचान र स्थानीय परम्पराको संरक्षणमा महत्त्वपूर्ण मानिने यो जात्रा हेर्न आसपासका स्थानीयदेखि बाहिरी पर्यटकसम्मको उल्लेख्य भिड लाग्ने गर्दछ।