लिग चरणबाट बाहिरियो कर्णाली

बुधबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण
लिग चरणबाट बाहिरियो कर्णाली

कर्णालीविरुद्ध शतक खेलेपछि पोखराका एडम रोसिंटन

कर्णाली याक्स दोस्रो संस्करणको ​सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणबाटै बाहिरिने पहिलो फ्रेन्चाइज टोली बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार पोखरा एभेन्जर्सबाट ३४ रनले पराजित भएपछि कर्णाली लिग चरणबाटै बाहिरिएको हो । जितसँगै पोखराको प्लेअफमा पुग्ने सम्भावना जीवितै रहेको छ । कर्णालीले आफ्नो अन्तिम खेलमा २ अंक जोडे पनि शीर्ष स्थान भेट्टाउन सक्दैन । लिगमा पोखरा र चितवन राइनोजले समान चार अंक बनाएका छन् । उनीहरू एक आपसमा खेल्न बाँकी छ । 

पोखरा र चितवनमध्ये एक टोलीको ६ अंक हुनेछ । अन्तिम खेलमा जित निकाले पनि कर्णाली बाहिरिनेछ । सुदूरपश्चिम रोयल्स १० अंकका साथ प्लेअफमा पुग्ने पहिलो टोली बनेको थियो । दोस्रो स्थानको काठमाडौं गोर्खाज र तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले समान आठ अंक बनाएका छन् । यी दुवै टोली प्लेअफनजिक छन् । कर्णालीले ६ खेल खेल्दा २ अंक मात्र जोडेको छ । कर्णालीले पाँच खेलमा हार र एक खेलमा जित निकालेको छ । 

पोखराले पाँच खेलमा दोस्रो जित निकाल्दै ४ अंक बनाएको छ । पोखराले बाँकी दुई खेलमा जित निकाले प्लेअफ पुग्ने सम्भावना रहनेछ । पहिलो ब्याटिङ गरेको पोखराले २० ओभरमा दुई विकेट गुमाएर २०१ रनको योगफल खडा गर्यो । प्रत्युत्तरमा कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र जोड्दा पोखराले ३४ रनको बाजी मार्यो ।

रोसिंटनको शतकीय इनिङ्स
पोखराको जितमा एडम रोसिंटनले शतकीय इनिङ्स खेलेका थिए । चालू एनपिएलमा यो दोस्रो शतक हो । यसअघि कर्णालीका मार्क म्याटले लुम्बिनी लायन्सविरुद्ध ११४ रनको शतकीय इनिङ्स खेलेका थिए । समग्रमा एनपिएलको इतिहासमा तेस्रो शतकका रूपमा रोसिंटनले प्रहार गरेका हुन् । कर्णालीविरुद्ध नटआउट रहेका उनले ५८ बलमा ११ चौका र सात छक्का प्रहार गरी १०८ रन बनाएका थिए । इंग्ल्यान्डका पूर्व खेलाडी ज्यासन रोयले रोसिंटनलाई दोस्रो विकेटका लागि शतकीय साझेदारीको साथ दिएका थिए । इनिङ्सको ४.५ ओभरमा कप्तान कुशल भुर्तेलले आफ्नो विकेट गुमाउँदा पोखरा ३४ रनमा थियो । दुवैले दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गर्दै पोखरालाई बलियो स्थितिमा राखे । इंग्ल्यान्डका ब्याट्सम्यान रोयको यो पहिलो एनपिएल हो । 

पर्याप्त प्रकाश नभएको गुनासो 
पोखराको पहिलो ब्याटिङ क्रममा १७औँ ओभरमा फ्लडलाइटमा केही समस्या आएको थियो । क्रिजमा रहेका रोसिंटन र रोयले श्रीलंकाका म्याच अम्पायर लियोन्ड हनिबाल र प्रगिथ राम्बुकवेलाले फलडलाइटमा पर्याप्त प्रकाश नभएको गुनासो गरेका थिए । अम्पायरद्वयले लाइट मिटर प्रयोग मैदानमा प्रकाश पर्याप्त रहेको जनाए । त्यसपछि खेल सुचारु भएको थियो । यसअघि केही समय खेल रोकिनुपर्ने अवस्था सृजना भएको थियो । प्रकाश पर्याप्त भए पनि मैदानमा भिजिबिलिटी कम रहेको थियो । 

अम्पायरले खेल्न निर्देशन दिएकै ओभरमा रोय क्याचआउट भएका थिए । उनले ३४ बलमा तीन छक्का र दुई चौका प्रहार गरी ४६ रनको योगदान दिएका थिए । १६.४ ओभरमा नन्दन यादवले फयाकेको बलमा रोय पाञ्चालबाट क्याचआउट भएका थिए । मैदान छाड्ने क्रममा रोयले रिजर्भ अम्पायर सञ्जय सिंग्देलसँग कमजोर व्यवस्थापनप्रतिको टिप्पणी गरेका थिए । कर्णालीले लक्ष्य पछ्याएको इनिङ्समा ओपनर मार्क वाटले ५९ रनको अर्धशतकीय इनिङ्सको योगदान दिए । ९.५ ओभरमा किरण ठगुनाले आउट गर्नुअघि वाटले ३४ बलमा ५ छक्का र चार चौका प्रहार गरेका थिए । उनी क्रिजमा रहँदासम्म कर्णालीले जितको आशा गरेको थियो । धनञ्जय र रिषी धवनले समान तीन विकेट लिएपछि कर्णाली लक्ष्यसम्म पुग्न सकेन । यससँगै कर्णालीको प्लेअफमा पुग्ने सबै आशा समाप्त भयो । 

जनकपुरले लगातार चार हारको शृंखला तोड्यो
साबिक विजेता जनकपुर बोल्ट्सले लगातार चार हारको शृंखला तोडेको छ । प्रतियोतिगाअन्तर्गत २०औँ खेलमा जनकपुरले चितवन राइनोजमाथि ६ विकेटको सानदार जित निकालेको हो । पहिलो ब्याटिङ गरेको चितवनले २० ओभरमा चार विकेट गुमाएर १ सय ७६ रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा जनकपुरले १७.३ ओभरमा चार विकेटको नोक्सानीमा १ सय ८० रन जोड्दै एनपिएलमा पहिलो जित दर्ता गरेको हो । 

जितले लिग चरणबाट बाहिरिने संघारमा रहेको जनकपुरलाई राहत मिल्यो । जनकपुरले शीर्ष चारमा रहँदै उपाधि रक्षा गर्ने योजना सफल पार्न बाँकी दुवै खेल जिते पनि सहज छैन । जनकपुर प्लेअफमा पुग्न चितवन र लुम्बिनीले आ–आफ्ना बाँकी सबै खेल हार्नु पर्छ । पाँचमध्ये तीन खेलमा हारको सामना गरेको चितवनलेको प्लेअफ यात्रा कठिन बनेको छ । प्लेअफमा पुग्न चितवनले बाँकी दुई खेल जित्नै पर्नेहुन्छ । जनकपुरको जितमा पाकिस्तानका माज सदाकत र अनिल शाहले अर्धशतकीय योगदान दिएका थिए ।

माजले ३० बलमा ६ चौका र चार छक्का प्रहार गरी ६३ रन जोडेका थिए । अनिलले ३६ बलमा तीन छक्का र चार चौका प्रहार गर्दे ६१ रन बनाए । माज र अनिलले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै जनकपुरको जित सम्भव पारे । जनकपुरको जितमा आदित्य महताले सात बलमा दुई चौका र एक छक्का प्रहार गरी १८ रन तथा जान निकोलले नौ बलमा ११ रन बनाएका थिए ।

यसअघि चितवनको ओपनिङ उत्कृष्ट रह्यो । डेभिड मालान र अर्जुन साउदले पहिलो विकेटका लागि १ सय १२ रनको साझेदारी गरेका थिए । मालानले ५४ बलमा पाँच छक्का र चार चौका प्रहार गरी ८० रन बनाए भने अर्जुनले ३९ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५२ रन बटुले । कुशल मल्लले १४ बलमा समान दुई चौका र छक्का हिर्काएर ३० रन जोडेका थिए । 

सुझावित समाचार