सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैकुण्ठप्रसाद अर्याललाई सचिव पदमा नियुक्त गरेको छ । रिक्त रहेको पदमा उनको बढुवा भएको हो।
त्यस्तै, प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा. कुमार शर्मा आचार्य मनोनयन भएका छन् । डा.आचार्य वरिष्ठ अधिवक्ता हुन्।
बाढीपहिरोबाट ठुलो क्षति बेहोरेको श्रीलंकालाई २ लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बैठकले भदौ २३ गते जेन-जी दिवस मनाउने निर्णय पनि गरेको छ। बैठकले जेन-जी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमती, अविवाहित छोरी/अविवाहित छोरालाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
त्यस्तै, सरकारले आगामी माघ १ गतेदेखि एकपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणबाट गर्नुपर्ने गरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ। बैठकले विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञानबहादुर थापालाई नियुक्त गरेको छ।