उदयपुरको त्रियुगा नगरपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको औपचारिक रुपमा उद्घाटन गरिएको छ। त्रियुगा नगरपालिका–१० बोक्सेको बाँसबारीमा नवनिर्मित भवनको सोमबार नगरप्रमुख बसन्तकुमार बस्नेतले उद्घाटन गरेका हुन्।
भवन उद्घाटनसँगै त्रियुगा नगरपालिका–११ गाईघाट बजारमा रहेको नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय पनि नयाँ भवनमा सरेको छ। उक्त भवन अपाङमैत्री र बालबालिकामैत्री रहेको नगरप्रमुख बस्नेतले बताए। नयाँ भवन उद्घाटन गरेर संचालनमा ल्याएसँगै नगरपालिकाले शाखा र सेवाहरु एकै ठाँउबाट सहज सेवा प्रवाह गर्ने भएको छ। यसअघिको पुरानो भवन सानो हुँदा दुई स्थानबाट सेवा प्रवाह हुँदै आएको थियो।
भवनमा विद्युतीय भर्याङ (लिफ्ट)सहित अन्डर पार्किङको सुविधा छ। २०७८ सालमा तत्कालीन नगरप्रमुख बलदेव चौधरीले भवनको शिलान्यास गरेका थिए। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार कोइरालाका अनुसार ८४ कोठा रहेको चारतले भवन १२ करोड २६ लाख ३९ हजार २९३ रुपैयाँमा ज्ञान ज्योती बिल्डर्स प्रालि काभ्रेले निर्माण गरेको हो।
अब नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका सुविधा सम्पन्न कार्यकक्ष र सभा हललगायत नगरपालिकाका विभिन्न शाखाहरू एउटै भवनमा रहने छ।