मकवानपुरको दुर्गम मानिने राक्सिराङ गाउँपालिका वडा नम्बर २ कुडुलेस्थित सरिखेत स्वास्थ्य चौकीको नयाँ भवन बन्ने भएको छ। गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सोमबार भवनको शिलान्यास गरेका हुन्।
गाउँपालिकाको १ करोड १८ लाख २३ हजार रुपैयाँ लागतमा बन्ने उक्त स्वास्थ्य चौकी भवन साढे एक तलको हुने अध्यक्ष मल्लले जानकारी दिए। भरोसा अल्मुनियम एण्ड कन्स्ट्रक्सनसँग सम्झौता भई निर्माण हुन लागेको उक्त भवनले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सहज हुने अपेक्षा गरिएको छ।
शिलान्यासपछि बोल्दै अध्यक्ष मल्लले केही वर्षअघिसम्म सिटामोलजस्ता सामान्य औषधिको अभाव रहेको पालिका अहिले संरचनागत विकासतर्फ अघि बढेको बताए। सुत्केरी आमा पोषण कार्यक्रममार्फत सेवा लिन आउनेहरुको संख्या बढ्दै गएकाले कच्चा र जीर्ण भवनमा काम गर्नुपर्ने बाध्यता अब अन्त्य हुने उनको भनाइ छ।
अध्यक्ष मल्लका अनुसार बाँकी १८ महिनाको कार्यकालभित्र भवन निर्माण सम्पन्न गरिनेछ। भवन निर्माण सम्पन्न भएपछि स्वास्थ्य सेवा थप विस्तार गर्ने अध्यक्ष मल्लले प्रतिबद्धता व्यक्त गरे। सरिखेत स्वास्थ्य चौकीले गाउँपालिकाको वडा नम्बर १, २ र ३ का स्थानीयवासीलाई सेवा प्रदान गर्दै आएको छ।
६ वटा कोठासहित बन्ने भवनका लागि ३ रोपनी जग्गा स्थानीय शान्ता कुमारी दर्जी र मिठु नेपालले दान गरेका हुन्। दान गरिएको जग्गाका कारण स्वास्थ्य संरचना विस्तारमा टेवा पुगेको स्थानीयवासीको अपेक्षा छ।
शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, उपाध्यक्ष बनस्तम थिङ, स्वास्थ्य संयोजक विजयकुमार कापरी, महिला तथा बालबालिका शाखा प्रमुख गोमा पन्थी, प्रशासन सहायक पुनमकुमार रुम्बा, वडा सचिव लोकेन्द्र ओलीसहित स्वास्थ्यकर्मी तथा स्थानीयवासीको उपस्थिति थियो।