राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिच एकीकरण भएको छ । आइतबार राष्ट्रिय सभागृहमा आयोजित समारोहमा दुवै पार्टीका नेताहरूले एकीकरणको घोषणा गर्दै पाँचबुँदे सहमतिपत्र सार्वजनिक गरेका छन् । एकता समारोहमा घन्टी बजाएर विवेकशील साझाका नेतालाई स्वागत गरिएको छ ।
एकीकरणपश्चात् दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झन्डा साबिककै नीलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बिचमा निलो रंगको घन्टीको आकृति र दलको चिह्न ‘घन्टी’ नै रहने सहमति छ । यस्तै, रास्वपाको राजनीतिक सिद्धान्त र नेतृत्व निःसर्त स्विकार्दै निष्ठा र मूल्य–मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवद्र्धनमा स्व. उज्ज्वल थापा एवं ‘विवेकशील अभियान’को योगदानलाई दस्ताबेजीकरण गरी मान्यता दिने सहमति छ ।
‘छोटो समयमै उल्लेखनीय संसदीय हैसियत बनाई सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गरेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपालमा वैकल्पिक राजनीतिका युवा प्रणेता स्व. उज्ज्वल थापाले प्रारम्भ गर्नुभएको ‘विवेकशील अभियान’लाई निरन्तरता दिइरहेको विवेकशील साझा पार्टीबिच उन्नत राष्ट्र सेवाको साझा उद्देश्यलाई अझ सशक्त बनाउन एकीकरण सम्पन्न भएको छ,’ सहमतिमा छ ।
यस्तै, उनीहरूबिचको एकता सहमतिमा ‘सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आमनागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबिच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै एकीकरण गरिएको’ उल्लेख छ । सहमतिपत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घन्टी’मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्दा अघि बढाउन अन्य सबै सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वानसमेत गरिएको छ ।
यसैगरी, रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनसम्मका लागि बनाइएको विशेष संयन्त्र ‘संघीय नेतृत्व मञ्च’मा विवेकशील साझा पार्टीबाट एकीकरणको प्रक्रियाबाट आउने नेताहरूलाई आपसी समझदारीमा मनोनयन गर्ने सहमति छ । मञ्चका सदस्यहरूको वरीयता केन्द्रीय समितिको सदस्यसरह हुनेछ । विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारहरूलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत संरचनामा समुचित समायोजन गरी जिम्मेवारी तोक्दा योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार मान्ने सहमति छ ।
यस्तै, एकीकरणसम्बन्धी निर्वाचन आयोगसम्बद्ध कानुनी प्रक्रिया पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबाट आवश्यक दस्ताबेजहरू तयार गर्दै पार्टीका नाममा रहेको चल–अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने सहमति छ ।
को–कोबिच ध्रुवीकरण ?
रास्वपा र विवेकशील साझाबिच पार्टी एकता नै भएको छ । त्यस्तै, माओवादी, समाजवादीसहित १२ दल र समूह एकीकरण भई नेपाली कम्युनिस्ट पार्टी बनेको छ । यसैगरी दलहरू चुनावी तालमेलमा पनि अग्रसर भएका छन् । अम्बिकाप्रसाद देवको नेकपा (माक्र्सवादी) र लोकनारायण सुवेदीको नेपाल कम्युनिस्ट पार्टीबिच चुनावी तालमेलको सहमति भएको छ ।
एउटै चिह्नबाट चुनाव लड्न निवेदन दिएका छन् । प्रभु साहको आम जनता पार्टी र जनादेश पार्टी नेपालले पनि तालमेल गरेका छन् । पुण्यप्रसाद प्रसाईंको सचेत नेपाली पार्टी र भरत खड्काको नागरिक सर्वाेच्चता पार्टीले पनि एउटै चिह्नबाट चुनाव लड्नेछन् । मो. रिजवालको नेपाल संघीय समाजवादी पार्टी, हरिनन्दन कुमारको बहुजन एकता पार्टी नेपाल र धुपलालप्रसाद सहनीको नेपाल जनजागृति पार्टीले पनि एउटै चिह्नबाट चुनाव लड्नेछन् ।
खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल र अनुपकुमार उपाध्यायको उज्यालो नेपाल पार्टीले पनि चुनावी तालमेल गरेका छन् । राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपाल, अशोक राईको जसपा, कविर सोपको नागरिक उन्मुक्ति पार्टी नेपालले एउटै चुनाव चिह्न लिने सहमति गरेका छन् ।