काठमाडौं प्लेअफनजिक, कर्णालीको सम्भावना निकै कमजोर

आइतबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण
काठमाडौं प्लेअफनजिक, कर्णालीको सम्भावना निकै कमजोर

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

कर्णाली याक्सलाई पाँच विकेटले हराउँदै काठमाडौं गोर्खाज दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ नजिक पुगेको छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५० रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाउँदै १५५ रन जोड्यो।

करण केसीको नेतृत्वमा रहेको काठमाडौंले पाँचमध्ये चार खेलमा जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनायो। प्लेअफको यात्रामा पुग्न काठमाडौंका लागि कर्णालीविरुद्ध जित्नै पर्ने दबाब थियो। काठमाडौंले ८ अंक जोडेको छ।

जारी लिगमा खराब प्रदर्शन गरेको कर्णाली याक्सको सम्भावना भने निकै कमजोर बनेको छ। बाँकी दुई खेल जितेर मात्रै पनि पुग्दैन । अन्य टोलीको नतिजामा पनि भर पर्छ। कर्णालीको ५ खेलबाट २ अंक छ।

लिगमा पाँच खेल नै जितेको सुदूरपश्चिम रोयल्स १० अंकसहित शीर्ष स्थानमा छ। उसले प्लेअफमा स्थान बनाइसकेको छ। विराटनगर पाँचमध्ये चार खेल जितेर आठ अंकसहित दोस्रो स्थानमा रह्यो।

काठमाडौंका लागि जेरार्ड इरास्मरले अविजित ४३ रन बनाए। उनले ३३ बलमा समान २ चौका र २ छक्का हिर्काए। जेन सिम्पसनले २१ बलमा ४१ रन बनाएर आउट भए। उनले ४ चौका र २ छक्का हिर्काए। इरास्मस र सिम्पसनले चौथो विकेटको लागि ४३ बलमा ८६ रनको बलियो साझेदारी गर्दै जित निकालेका हुन्।

यसअघि ओपनर वेन चार्लस्वर्थले २१ बलमा ३४ रन बनाएका थिए। उनले २ चौका र ३ छक्का प्रहार गरे। १५ रन बनाएका मिलिन्द कुमार रन आउट हुँदा आकाश त्रिपाठीले ८ रनको योगदान गरे।

कर्णालीका लागि नन्दन यादवले ४ ओभरमा ३५ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए। पवन सरार्फले एक विकेट हात पार्दा कप्तान सोमपाल कामी, विलियम बोसिस्टो, मार्क वाट, विपिन शर्मा र युवराज खत्री विकेटविहीन रहे।

यसअघि पहिलो इनिङ्समा कर्णालीका अलराउन्डर गुल्सनकुमार झाले आक्रामक ब्याटिङ गर्दै ४९ रन बनाएका थिए। उनले २२ बलमा ६ चौका र दुई छक्का प्रहार गरे। ८८–६ को स्थितीबाट गुल्सनले दीपक डुम्रेसँग सातौँ विकेटका निम्ति ५५ रनको साझेदारी गर्दै कर्णालीलाई सम्मानजनक लक्ष्यसम्म पुर्याएका हुन्। दीपकले १० रन बनाए।

पवन सर्राफले २९ बलमा दुई चौका र दुई छक्कासहित ३५ रन बनाए। ओपनर मार्क वाटले २७ बल खेल्दा एक चौका र दुई छक्कासहित ३० रनको योगदान गर्दा अर्का ओपनर प्रियांक पन्चाल ‘रोयल डक’ भए। विलियम बोसिस्टोले एक र कप्तान सोमपाल कामीले ६ रन थपे।

काठमाडौंका राशिद खानले दुई विकेट लिए। चार ओभरमा उनले ३७ रन खर्चिए। मिलिन्द कुमार र सन्तोष यादवले समान एक विकेट लिए।

सुझावित समाचार