नबिल बैंक र नेपाल इन बिजनेस: ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए)बिच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि साझेदारी भएको छ । साझेदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातले हस्ताक्षर गरे ।
कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट कार्यालय (एफसिडिओ)ले एनआइबी–जिएमार्फत विभिन्न ४० वटा साना तथा मझौला उद्यमलाई एनआइबीले तोकेको मुख्य क्षेत्र र भूगोलका आधारमा ८४ करोड रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । उक्त अनुदानले उद्यमीलाई उत्पादन र सेवा विस्तार गर्दै निर्यातउन्मुख उद्यमका रूपमा विकास गर्न सहयोग गर्ने जनाइएको छ ।
बैंकका सिइओ ज्ञवालीले यसप्रकारका अभियानले साना तथा मझौता उद्यमीको मनोबल बढाउन सहयोग पुग्ने बताए । ‘यो परियोजना साना तथा मझौला उद्यमको विकास गर्न उद्यमी र नीति–निर्मातासँग नजिक रही काम गर्ने उद्देश्यले तयार पारिएको छ,’ उनले भने, ‘परियोजनाअन्तर्गत नबिल बैंकले साझेदार संस्थालाई एसएमई कर्जा र च्यानल फाइनान्सिङको सुविधा उपलब्ध गराउन सकिनेछ ।’ एनआइबी–जिए कार्यक्रमका प्रमुख बस्न्यातले परियोजनामा व्यवस्थित र पारदर्शी रूपमा अनुदान व्यवस्थापन गर्न लागेकामा बैंकप्रति आभार व्यक्त गरे । ‘यसप्रकारको सहकार्य सोही प्रकृत्तिका अन्य परियोजनामा पनि लागू गर्न सकिन्छ, सरकारले पनि पुँजीगत खर्चको प्रभावकारिता बढाउन यसप्रकारको ढाँचा अवलम्बन गर्न सक्छ,’ उनले भने ।
साझेदारीअनुसार बैंकले उद्यमीलाई अनुदान वितरण गर्नेछ । बैंकले सबै साझेदार संस्थाका लागि सुरक्षित, पारदर्शी र प्रभावकारी रूपमा वित्तीय व्यवस्थापन गर्ने जनाइएको छ । एनआइबीको उक्त कार्यक्रम अनुदान र प्राविधिक सहायता प्रदान गरी साना तथा मझौला उद्यमलाई सुदृढीकरण गर्दै दिगो र उत्पादनशील रोजगारी सिर्जनामा केन्द्रित रहेको बैंकको भनाइ छ ।
एनआइबी–जिए पाँचवर्षे परियोजना हो । परियोजनामा बेलायतको युके इन्टरनेसनल डेभेलपमेन्टबाट वित्तीय सहयोग प्राप्त छ भने डिएआई ग्लोबल युकेले कार्यान्वयन गर्दै आएको छ ।