दाङको राप्ती गाउँपालिकाले फोहोर वर्गीकरण गर्ने मेसिन ल्याउने भएको छ। पालिकाले गल्ने र नगल्ने फोहोर व्यवस्थापनका लागि ‘ट्रोमेल स्क्रिन प्लान्ट कन्भेयर बेल्ट मेसिन’ खरिद गर्न लागेको हो।
त्यसका लागि ४५ लाखको टेन्डरसमेत गरिसकेको पालिका अध्यक्ष प्रकाश विष्टको भनाइ छ। उक्त मेसिन आएसँगै फोहोर वर्गीकरणमा सहज हुनेछ। ‘गत वर्ष फोहोर वर्गीकरण गर्ने मेसिन खरिदका लागि संघीय सरकारले बजेट पनि पठाएको थियो। त्यो बजेट प्रदेश सरकारको खातामा थियो,’ उनले भने, ‘तर, त्यो बजेट काम नगरी फ्रिज भयो, अहिले त्यसले गर्दा समस्या निम्त्याएको छ।’
पालिकाले अहिले राप्ती नदीकिनारको उकास जग्गालाई प्रयोग गरी साउन ०८० देखि फोहोर संकलन गरेर त्यसबाट ब्लक इँट्टा उत्पादन गरिरहेको छ। पालिका अध्यक्ष विष्टका अनुसार त्यहाँबाट उत्पादन भएका ब्लक इँट्टालाई पालिकाले आफ्नो प्रांगणमा समेत प्रयोग गरिसकेको छ।
वडा नम्बर २, कटाहाको पुन्यपुर क्षेत्रमा नदी उकासको करिब सात कट्ठा जग्गामा त्यसरी फोहोर व्यवस्थापन गरिएको अध्यक्ष विष्टले बताए। इआइए र आइइई गरेर विज्ञको रिपोर्टअनुसार नै सोही क्षेत्रमा फोहोर व्यवस्थापन गरिएको उनको भनाइ छ। त्यसरी फोहोर व्यवस्थापन गर्न प्लास्टिकजन्य वस्तुबाट ब्लक इँट्टा तयार गर्ने गरिएको हो।
फोहोर वर्गीकरणकै लागि भनेर २५ जना कर्मचारीले समेत अहिले काम पाएका छन्। तर, पनि केही समययता फोहोर डम्पिङ हुँदा स्थानीय आक्रोशित हुने अवस्था आएको भन्दै त्यो समस्या पनि वार्तामार्फत समाधान गर्ने तयारी गरिएको उनले बताए। सोही स्थानमा फोहोर डम्पिङ गर्नका लागि भएको सहमतिअनुसार नै काम गरिरहेकोसमेत अध्यक्ष विष्टको भनाइ छ। अध्यक्ष विष्टका अनुसार सोही फोहोर व्यवस्थापन भइरहेको वडालाई अन्य वडाभन्दा बढी बजेट दिने, गाउँसम्म सडक कालोपत्रे गर्ने, बगर क्षेत्रमा रुखविरुवा रोप्नेजस्ता कार्य भएको उनले बताए। सोही ठाउँमा दैनिक ५ ट्याक्टर फोहोर उठ्ने गर्छ।