एनपिएलको साबिक विजेता जनकपुर बोल्ट्सले बिहीबार हुने खेलमा आमाको नाम लेखिएको जर्सी प्रयोग गर्ने भएको छ । जनकपुरले बुधबार पत्रकार सम्मेलन गर्दै आमाहरूमाथि सम्मान अर्पण गर्न पोखरा एभेन्जर्सविरुद्धको खेलमा आ–आफ्नो आमाको नाम लेखिएका जर्सी लगाएर खेल्ने जानकारी दिएको हो ।
यो खेलका जर्सीहरू बिक्रीका लागि अक्सनमा राखिनेछ । पोखराविरुद्धको खेलमा जनकपुरको जर्सीमा खेलाडीहरूको नाम हुनेछैन । खेलाडीले आफ्नो सट्टा आमाको नाम भएको जर्सी लगाउनेछन् । जनकपुर बोल्ट्सले हरेक वर्ष यस प्रकारको काम गर्ने जनाएको छ । जनकपुरले महिला सशक्तीकरण प्रवद्र्धन गर्नका निम्ति यो निर्णय गरेको प्रबन्ध निर्देशक नीरज खतिवडाले जनाए ।
यस संस्करण जनकपुरले सशक्तीकरणको निम्ति ‘पिंक्स फर रुट्स, पिंक्स फर मदर’ नारासमेत अँगालेको छ । जर्सी बिक्रीबाट उठेको रकम आमा समूहलाई सहयोग गर्ने जनकपुरले जनाएको छ । जनकपुरका स्पिनर ललित राजवंशीले आमाप्रति सम्मान व्यक्त गर्दै बिहीबार राम्रो खेल देखाउने बताएका छन् । ‘आजको खेलमा नतिजा जस्तो आए पनि हामी आमाहरूप्रति सम्मानका लागि खेल्छौँ,’ राजवंशीले भने, ‘यो कार्य निकै राम्रो छ ।’
पोखराका कप्तान कुशल भुर्तेलले पनि आमाप्रति सम्मानका लागि गरिएको क्याम्पियन निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनले प्रतिस्पर्धामा राम्रो प्रदर्शन गर्ने र नजिता आफ्नो पक्षमा पार्ने बताए । ‘आ–आफ्नो आमाको नाम लेखिएको जर्सी लगाएर मैदानमा जाँदा फरक अनुभव हुनेछ,’ भुर्तेलले भने, ‘हामी सबै आमाहरूको सम्मानका लागि खेल्छौँ ।’