दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत बुधबारको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७४ रनको योगफल तयार गरेको हो।
जारी संस्करणमा विराटनगरले लगातार तीन खेल जितेको छ। चितवनले दुई खेलमा समान एक जित र हार सामना गरेको छ।
ब्याटिङमा कमजोर सुरुवात गरेको चितवनले मध्यक्रमका ब्याट्सम्यानबाट उत्कृष्ट योगदान पाएपछि फर्ममा रहेको विराटनगरविरुद्ध चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको हो। चितवनका लागि रवि बोपाराले लगातार खेलमा अर्धशतकीय इनिङ्स खेले। उनले ३८ बलमा चार छक्का र तीन चौका प्रहार गरी सर्वाधिक ६५ रनको योगदान दिए।
बोपाराले कुशल मल्लसँग पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए। इनिङ्सको १९.४ ओभरमा बोपारा क्याचआउट भए।
यसैगरी, देव खनालले २२ बलमा २८ रन तथा सैफ जैवले ३० बलमा ३२ रन जोडे। कप्तान कुशल मल्लले १४ बलमा समान एक चौका र छक्का प्रहार गरी २० रन बनाए।
विराटनगरका लागि मार्चेन्ट डे लागेँले र सन्दीप लामिछानेले दुई–दुई विकेट लिँदा शुभम रन्जानेले एक विकेट हात पारे।