कात्तिक १२ देखि १५ गतेसम्म परेको अविरल वर्षातका कारण रामेछापमा ८७ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति हुँदा करिब ६० लाखबराबरको नोक्सान भएको छ ।
पानी पर्ने भेउ नपाएपछि किसानहरूले खेतमा पाकेर पहेँलपुर भएको धान काटेका थिए । काटेको धानबाली भित्र्याउन नपाउँदै लगातार रूपमा पानी परेपछि खेतमै धान भिजेको थियो । लगातारको पानीले गर्दा धान बाेटमै टुसाएको थियो । वर्षभरि खान पुग्ने धान फलेको भए तापनि पानीले गर्दा पूरै धान नोक्सान भएको मन्थली नगरपालिका– १ का किसान हरिराम भुजेल बताउँछन् ।
उनले भने– खेतमा धान पाकिसकेको थियो । पाकेको धान काटेर भित्र्याउने तयारी गर्दै थियौँ । अकस्मात् पानी पर्न थाल्यो । धान काट्ने वेलामा पानी पर्ला जस्तै थिएन । लगातार रूपमा पानी परिरहेपछि बिटा लगाउन सक्ने कुरै भएन । भिजेको धान बिटा लगाउँदा बाेटमै टुसा उम्रिसकेको छ । यस वर्षको धान उत्पादन राम्रो भए तापनि अब वस्तुलाई कुँडो खुवाउनबाहेक अन्य काम नलाग्ने हुँदा धेरै दुःख लागेको बताए ।
वर्षाले खाँडादेवी गाउँपालिकामा सबैभन्दा बढी धानबालीमा क्षति पुर्याएको छ । खाँडादेवी गाउँपालिकामा ६१ हेक्टर क्षेत्रफलमा ११४ मेट्रिक टन धान नष्ट हुँदा किसानलाई ३५ लाख रुपैयाँबराबरको आर्थिक क्षति भएको छ ।
प्रारम्भिक तथ्यांकअनुसार रामेछाप जिल्लाभरि ८७ हेक्टर क्षेत्रफलमा १३९ मेट्रिकटन धान नोक्सान हुँदा ६० लाख रुपैयाँबराबरको किसानलाई आर्थिक क्षति पुगेको कृषि विकास कार्यालय रामेछापका कार्यालय प्रमुख प्रमोदप्रसाद दाहालले जानकारी दिए ।
उनले भने– वर्षाले क्षति पुर्याएका किसानको विवरण संकलन गर्ने काम भइसकेको छ । अब किसानहरूलाई राहत वितरण गर्ने गरी काम अघि बढाएका छौँ । प्रादेशिक कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत कृषकलाई क्षतिको प्रतिरोपनी एक हजार पाँच सय रुपैयाँ राहत उपलब्ध गराउने व्यवस्था रहेको र त्यहीअनुसार काम अघि बढाइएको पनि प्रमुख दाहालले बताए ।
क्षतिपूर्तिबापतको रकम पाउन किसानहरूले अन्य निकायबाट राहत नपाएको र बिमा नगरेको हुनुपर्नेछ । जिल्लामा धान फल्ने आठ हजार ६१५ हेक्टर क्षेत्रफल खेतमध्ये यस वर्ष ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । प्रतिहेक्टर २.१७ मेट्रिकटन धान उत्पादन हुने रामेछापमा यस वर्ष धान उत्पादन बढ्ने अपेक्षा गरिए तापनि यस वर्ष वर्षाका कारण यस वर्ष चामल बेसाहा खोज्नुपर्ने अवस्था आउने किसानहरू बताउँछन् ।