चालू आर्थिक वर्षमा सात खर्ब रुपैयाँबराबरको लगानी स्वीकृत गर्ने लक्ष्य राखिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । विगतमा वार्षिक करिब एक खर्ब रुपैयाँबराबरको लगानी स्वीकृत हुने गरेकोमा गत आर्थिक वर्षमा बोर्डले दुई खर्ब ५६ अर्ब रुपैयाँबराबरको लगानी स्वीकृत गरेको उनले बताए ।
त्यस्तै, अहिले १६ खर्ब रुपैयाँबराबरका लगानी आयोजना पाइपलाइनमा रहेको भन्दै यसले पनि थप आशाको सञ्चार गरेको उनले बताए । आइतबार नेपाल आर्थिक पत्रकार संघसँगको भेटमा सिइओ ज्ञवालीले परम्परागत जलविद्युत्बाहेक सूचना प्रविधि पार्क, हाइड्रोजन ऊर्जा र कृषि–सोलारजस्ता भविष्यमुखी परियोजनासमेत समावेश रहेको उनको भनाइ छ ।
विदेशी लगानीकर्ताको विश्वास जित्न र लगानीको वातावरणलाई पुनः लयमा फर्काउन सक्रिय रूपमा पहल गरिरहेको बोर्डका सिइओ ज्ञवालीले बताएका छन् । जेन–जी आन्दोलनका कारण अन्तर्राष्ट्रियस्तरमा सिर्जना भएको नकारात्मक छविलाई सुधार गर्ने प्रयास भइरहेको उल्लेख गरे । पछिल्ला चुनौतीका बाबजुद लगानी स्वीकृतिमा भने उत्साहजनक वृद्धि देखिएको उनले बताए ।