सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त : ठेक्काको म्याद गुज्रिनै लाग्दा ५० प्रतिशत मात्रै काम सकियो

सोमबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजना ठेक्का सम्झौताको म्याद गुज्रिनै लाग्दा विस्तारको काम भने ५० प्रतिशत मात्रै सकिएको छ । काम सम्पन्न हुनुपर्ने वेलामा ठेकेदारहरू म्याद थपका लागि दौडधुप गरिरहेका छन् । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डलाई ६ लेनमा विस्तार गर्न २४ पुस ०७९ मा दुई खण्डमा बाँडेर ठेक्का सम्झौता भएको थियो ।

झन्डै १६ किलोमिटर सडक विस्तारको काम तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर, हालसम्म औसतमा ५० प्रतिशत मात्रै काम सकिएको छ । अहिले ठेकेदारहरू आयोजनाको म्याद डेढ वर्षसम्म थप्नका लागि दौडधुप गरिरहेका सडक विभागका एक अधिकारीले बताए । 

काठमाडौंलाई उत्तर र पूर्वमा जोड्ने यो सडक विस्तारका लागि ७.५ किमि लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल ८.४ किमि सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता भएको थियो । सूर्य विनायक–साँगाको म्याद मंसिरमा र साँगा–धुलिखेलको म्याद पुसमा सकिँदै छ । तर, सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडकखण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हाल दुवै प्याकेजको निर्माण धमाधम भइरहेको भए पनि तोकिएको समयमा नसकिने निश्चित छ । 

सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माणकार्य प्रभावित भएको थियो । आयोजनाका लागि चालू आर्थिक वर्षमा ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । आयोजनाले करिब चार अर्ब रुपैयाँ थप बजेट माग गरेको छ । दुर्व प्याकेजमा टेवा पर्खाल तथा नाली निर्माण प्रगति ९५ प्रतिशत रहेको छ । साँगा—धुलिखेल खण्डको करिब दुई किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

कामको गति बढाउन मन्त्री घिसिङको निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आइतबार सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गरी कामको गति बढाउन निर्देशन दिएका छन् । सडक विस्तारको निर्माण प्रगतिबारे जानकारी लिँदै उनले अहिले उपयुक्त मौसम भएका वेला निर्माणलाई तीव्रता दिन निर्देशन दिएका हुन् । 

मन्त्री घिसिङले निर्माण प्रगति, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, निर्माण व्यवसायीसँग छलफल गरी काम गर्ने अहिले उपयुक्त मौसम रहेकाले निर्माणलाई तीव्रता दिन आग्रहसमेत गरे । उनले आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माणमा पूर्ण रूपमा परिचालित भई आगामी असारभित्रमा सडक विस्तार सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे । अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव नहुने उनले उल्लेख गरे ।

मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुखसँग छलफल गरी बनेपा बजार क्षेत्रमा सडक विस्तारमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन पनि आग्रह गरे । 
 

सुझावित समाचार