किस्ट शिक्षण अस्पतालले उपचार सेवा सुदृढ गर्ने तथा सेवा विस्तार गर्ने उद्देश्यले भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालसँग औपचारिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेको छ।
मेदान्त अस्पतालका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवनीत मल्होत्रा र अन्तर्राष्ट्रिय सम्बन्ध महाप्रबन्धक अमितकुमार ओझाको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो।
हालै मात्र अस्पतालले अन्तर्राष्ट्रिय स्वास्थ्य मान्यता (एनएबिएच मान्यता) प्राप्त गरेको थियो। एनएबिएच मान्यता प्राप्त गरेको एक वर्षभित्रै किस्टले अन्तर्राष्ट्रियस्तरको यो साझेदारी सुरु गरेको हो।
सम्झौतापश्चात् दुवै अस्पतालबिच चिकित्सकीय तथा शल्यउपचार सहकार्यमा उत्कृष्टताको ढाँचामा प्रविधि, विशेषज्ञता र ज्ञान आदान–प्रदान हुने बताइएको छ। यस सम्झौताबाट किस्टमा अत्याधुनिक उपकरण तथा उपचार सेवाको विस्तार भई जटिल रोगको उपचार र (अनुगमन) सेवा नेपालमै सहज हुने अपेक्षा गरिएको किस्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले बताए।
सहकार्यले हृदय शल्यक्रिया, अस्थिमज्जा प्रत्यारोपण, किरण उपचारलगायतका विशेष सेवाहरूको क्षमता वृद्धि गर्नेछ भने चिकित्सक र प्राविधिक कर्मचारीका लागि तालिम र विशेषज्ञता आदान–प्रदानका अवसर पनि उपलब्ध हुनेछन्।
दुवै संस्थाबिच (दूरदराज स्वास्थ्य सेवा) प्रणाली जडान गरिने तथा गम्भीर अवस्थाका बिरामीका लागि हवाई एम्बुलेन्स सेवामार्फत रेफरल र उपचार प्रक्रिया सहज हुने बताइएको छ।