नवराज पुडासैनी, उनलाई बढीजस्तो गुराँस भनेर चिनिन्छ । गुराँस जसरी वसन्तमा हाम्रा पाखापखेरामा ढकमक्क पुल्छ, त्यसरी नै पुलेका छन् गुराँस ‘संघर्षको इतिहास’ मा । जसरी चैत वैशाखताका पखेरातिर गुराँसको फूल निखिँ्रदो हुन्छ, त्यस्तै उनका बाआमाका दशमध्ये आठौँ अथवा निखँ्रदो सन्तान हुन् उनी । उनी विद्यालय पढ्दादेखि नै प्रगतिशील विचारमा लागेका थिए । यसकारण पनि गिरफ्तार, हिरासत, मुद्दा र जेल उनको युवावयको अनिवार्य एउटा पाटोजस्तो देखिन्छ । उनका कविता, संस्मरणलगायत फुटकर रचनाहरू प्रकाशित हुँदै आएका थिए । ‘संघर्षमा सिरानचोक’ पुस्तक उनको पहिलो कृति बनेर हामी पाठकमाझ सार्वजनिक भएको छ ।
यो पुस्तक इतिहास, बलिदान र जीवनी गरी तीन खण्डसहित २०४ पृष्ठमा बुनिएको छ । ७५३ मध्येको सिरानचोक एउटा पालिका मात्र हो, तर यसको विशिष्ट पहिचान छ, जसले इतिहासका विभिन्न कालखण्डमा अथवा समाज विकासको गतिलाई अगाडि बढाउने क्रममा निकै ठुलो बलिदान र योगदान गरेको देखिन्छ । पुस्तक मूलत: सिरानचोकको प्राकृतिक र सांस्कृतिक पहिचानवरिपरि उभ्याएको छ । जुन अन्तरवस्तु पुस्तकले बोकेको छ, यो मात्रात्मक नै सही मौलिक देख्न सकिन्छ । यस्तो प्रकृतिको कृति सायदै छन् जस्तो लाग्छ, तर करिब यस्तै प्रकृतिको पुस्तक ‘जनयुद्धमा गण्डकी’ (गण्डकी गाउँपालिका गोरखा)ले प्रकाशन गरेको छ । पालिकाका बहुपहिचान र सम्भावनालाई समेटेर यस्ता प्रकाशन सबै पालिकाले गर्न सक्दा हाम्रो समाज स्थानीय रूपमा थप समृद्ध र बलशाली बन्न सक्थ्यो । यस्ता प्रकाशनलाई सन्दर्भ/स्रोत सामग्री मानेर स्थानीय सरकारले गर्दै गरेको विद्यालयस्तरको पाठ्यपुस्तक निर्माणमा समेत महत्वपूर्ण सहयोग पुग्थ्यो ।
पुस्तकमा लेखकले सिरानचोकको विशिष्ट योगदानलाई मसिनोसँग निम्नानुसार लिपिबद्ध गरेका छन्:
गोरखाली सेनाको तर्फबाट राज्य विस्तार अभियानमा कुमाउँ, गढवाल, देहरादुन, काँगडा पुगेर बहादुरी प्रदर्शनी गरेका मुख्यत: नेपाल–भारत युद्धमा अदम्य साहसका साथ लडेका पश्चिम किल्लाका सर्वोच्च कमान्डर अमरसिंह थापा (राष्ट्रिय विभूति)को जन्म सिरानचोकमा भएको थियो । गोरखा राज्य विस्तार अभियानमा नुवाकोट, बेलकोट, ककनी, शिवपुरीमाथि विजयी बन्न निर्णायक भूमिका खेलेका एवं तत्कालीन कास्कीका सेनापति परशुराम थापाको ज्यान लिएर गोरखालीलाई विजयी हुन सहज बनाउने सैनिक झागल गुरुङ सिरानचोक (चित्रेपाम)मै जन्मिएका थिए (पृष्ठ १८–१९) ।
स्वतन्त्रता सेनानी रोहिणीदेव भट्ट (जौवारी), २००७ सालका मुक्ति सेनाका योद्धा टीकादत्त पोखरेल (छोप्राक) र २०१८ ०१९ सालको नेपाली कांग्रेसको सशस्त्र संघर्षमा सहभागी भएर ठोरी चितवनमा सहादतप्राप्त टीकादत्त थपलिया (जौवारी) आदि व्यक्तित्वहरूको जन्मभूमि पनि सिरानचोक नै हो (पृष्ठ २० र २३) ।
विसं ०१५ सालको संसदीय निर्वाचनमा नेकपाको तर्फबाट गोरखा निर्वाचन क्षेत्र १०४ बाट उमेदवार बन्नुभएका, नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन गोरखाका संस्थापक (२०११), नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन (२०१४) र चर्चित दरबंगा प्लेनम् (२०१७) का गोरखाका प्रतिनिधि बनेर सहभागी एवं जीवनभर कम्युनिस्ट आन्दोलनमा सक्रिय जगतबहादुर श्रेष्ठले जन्म लिएको भूमि पनि सिरानचोक, जौवारी (पृष्ठ २१ र २५) । जनयुद्धको प्रारम्भिक तयारी मोटो मशालले २०४२ सालदेखि नै गरेको थियो । यसैक्रममा २०४५ सालको सुरुवातसँगै किरण, प्रचण्ड, गौरव, बादल, दिवाकर, दण्डपाणि न्यौपाने, खम्बासिंह कुँवर, देव गुरुङ, रामवृक्ष यादव, टेकबहादुर पाठक, सन्तु दराईलगायतका नेताहरू सहभागी हप्ता लामो गुरिल्ला ट्रेनिङ सञ्चालन भएको ऐतिहासिक ठाउँ सिरानचोक । त्यहाँ उनीहरू दरौँदी तरेर पुगेका थिए भने चेप तरेर बाहिर निस्केका थिए (पृष्ठ ३०–३२) ।
जनयुद्ध सुरु भएपछि पहिलोपटक २०५३ भदौ १ गते केन्द्रीय सदस्य देव गुरुङलगायतका नेता–कार्यकर्ताको सामूहिक गिरफ्तारी भएको ठाउँ (छोप्राक) हो । त्यसपछि यस्तो प्रकृतिको घटना विरलै भयो जुन माओवादीका बन्दी देव गुरुङ र माओवादीको हिरासतमा रहेका डिएसपी ठुले राईबिच ०५६ को पुसमा बन्दी साटासाट भएको थियो (पृष्ठ ४३) । जनयुद्धको दसवर्षे अवधिमा पार्टीको सबैभन्दा माथिल्लो तहको नेतृत्व (पोलिटब्युरो सदस्य) सुरेश वाग्ले र मध्यक्षेत्रको एक मात्र प्लाटुन कमान्डर भीमसेन पोखरेलको सहादत (०५६ भदौ २३) सिरानचोक (गाँखु)मै भएको थियो (पृष्ठ ६७) ।
माओवादीलाई घेरा हालेर सिध्याउने उद्देश्यले तत्कालीन राज्यले चलाएको ‘किलो सेरा टु’ अप्रेसनको क्रममा अन्यत्रजस्तै गोरखामा पनि ठुल्ठुला हत्याकाण्ड भए । जसमा २०५५ पुस १३ गते केराबारी सामूहिक हत्या (पृष्ठ ६३), जसमा सातजना निशस्त्र माओवादी कार्यकर्तालाई बसेको ठाउँमा घेरा हालेर हत्या गरिएको स्थान सिरानचोक, सामूहिक हत्याकै अर्को शृंखला गोरखा बजारनजिकैको टक्सार हत्याकाण्ड हो, जहाँ विभिन्न समयमा पक्राउ गरेर हिरासतमा राखिएका नागरिकहरूलाई ०५८ पुस १३ गतेको मध्यरातमा गोली हानेर ६ जनाको हत्या गरिएको थियो, यसमध्ये चारजना सिरानचोक (छोप्राक)का थिए ।
माओवादी जनयुद्धले राज्यको प्रहरी बललाई पराजित गरेपछि अभिनयानात्मक ढंगले देशभरि जनसरकार निर्माण र घोषणा भएको थियो । यसमध्ये ०५८ भदौ २ गोरखा जिल्ला जनसरकार घोषणासमेत चित्रे सिरानचोकमै भएको थियो (पृष्ठ ५४) ।
पुस्तकमा जनयुद्धको दोस्रो योजनाअन्तर्गत ०५४ जेठ २२ गते जौवारी प्रहरीचौकीमाथिको आक्रमण, ०५४ पुस १३ गतेको चोरकाटेवाली विद्रोह र जनयुद्धको पाँचौँ योजनाअन्तर्गत ०५६ चैत १६ गते हर्मी प्रहरीचौकीमाथिको आक्रमणबारे चर्चा गरिएको छ । यस सन्दर्भमा के विषय महत्वपूर्ण छ भने समग्र जनयुद्धमा र हर्मी प्रहरीचौकीमाथिको आक्रमण गर्दासमेत हतियार कब्जा गर्ने, तर मानवीय क्षति सकेसम्म कम गर्ने भन्ने पार्टीको निर्णय र निर्देशन थियो । यसै नीतिअनुसार कब्जामा परेका सबै प्रहरीलाई माओवादीले मुक्त गरिदिएको थियो ।
पुस्तकको दोस्रो खण्डमा जनयुद्धको क्रममा भएका झन्डै १३ हजार मानवीय क्षतिमध्ये राज्यको तर्फबाट हत्या गरिएका सिरानचोकका भीमसेन पोखरेलसहितका ३१ जना र राज्यद्वारा बेपत्ता बनाइएका राजेन्द्र ढकालसहित चारजना, जसलाई लेखकले माओवादीका योद्धाहरूले क्रान्ति रोजे भनेर लेखेका छन् भने प्रहरी सेनाका नौजवानहरूले कर्तव्य रोज्दा भएको क्षति (पृष्ठ ७७) भनेर आठजनाको संख्या उल्लेख गरेका छन् । माओवादी इतरबाट ज्यान गुमाएका सातजना एवं सिरानचोबाट गिरफ्तार, हिरासत र बन्दी बनाइएका झन्डै १०५ जनाको विवरणसमेत पुस्तकमा समावेश छ (पृष्ठ ८३) ।
जनयुद्धमा सिरानचोकबाट बलिदान गर्ने ३५ जनामध्ये चार परिवारका आठजना छन्, जसमा मीना मरहट्ठा र महेन्द्र दिदीभाइ, भीमसेन पोखरेल र निरु दाजुबहिनी, राजविराज दाहाल र सुशीला दाजुबहिनी, केशरबहादुर नेपाली र तुलबहादुर बाबुछोरा हुन् (पृष्ठ ९६) । सिरानचोकमा जन्मिएर विभिन्न जिल्लामा सहादतप्राप्त गर्नेको संख्या पनि उत्तिकै छ । जस्तो लम्जुङ कोल्कीमा पदमकुमारी वराम (चित्रे), जुनकुमारी ढकाल (हर्मी) र सरिता बोगटी (हर्मी), लम्जुङकै पाच्चोकमा सीताराम ढकाल (हर्मी) र कुमारी आले (जौवारी), पर्वत घन्टेबजारमा विमला ढकाल (हर्मी), रोल्पा सुकीदहमा सूर्यनारायण श्रेष्ठ (छोप्राक), कास्की पोखरामा गोविन्द खनाल (थालाजुङ) र मकवानपुर झुरझुरेमा राजविराज दाहाल (केराबारी) छन् ।
पुस्तकको तेस्रो खण्डमा जनयुद्धमा सिरानचोकका ३५ जना योद्धाहरूको जीवनी समेटिएको छ । जनयुद्धमा सिरानचोकको यो स्तरको बलिदान गोरखाका पालिकाहरू मध्ये अग्रस्थानमा उभिएको देखिन्छ । यो खण्डको बिस्तारै यात्रा गर्दा जोकोही पनि पाठकलाई गहिरो भावमा डुबाउने गरी प्रस्तुतिको शैली भेटिन्छ । यस अर्थमा लेखक गुराँस संवेदनशील कवि व्यक्तित्व हुन् भन्न सकिन्छ ।
इतिहास विधामा पुस्तक लेख्दा जुन स्तरको खोज, अनुसन्धान र धैर्यता अनिवार्य हुन्छ, तर संघर्षमा सिरानचोक पुस्तकका लेखक गुराँस उपयुक्त पक्षमा हतार गरेर प्रकाशनमा पुगेको पुस्तकमा देख्न सकिन्छ ।
सिरानचोकका ८ वडामा बसोवास गर्ने जाति–जनजातिहरूको सांस्कृतिक पहिचानको खोजी र गहिराइमा पुस्तक जति प्रवेश गरेको छ, यो अपुग भएको अनुभूति हुन्छ । यहाँ गुरुङ, दलित र खसआर्यहरूको बाहुल्य भए पनि यसबाहेक तामाङ, कुमाल, वराम, नेवार, मगर, मुस्लिमलगायतका जाति–जनजातिहरूको बसोवास छ । यहाँका सबै जाति–जनजातिहरूको सांस्कृतिक पहिचानअन्तर्गत जनसंख्याको आँकडा, घनत्वको क्षेत्र, उत्पादन संघर्षमा खेलेको भूमिका, भाषा, लिपि, साहित्य, वेशभूषा एवं ऐतिसासिक परम्पराबारे विस्तृत रूपमा उल्लेख गर्न सकेको भए पुस्तक गहकिलो र थप पठनीय बन्न सक्थ्यो ।
इतिहासका महत्वपूर्ण कडी जुन सिरानचोकको पहिचान र योगदान थियो, यस्ता कडीहरू पुस्तकले छुटाएको अनुभूति हुन्छ । गोरखा राज्य विस्तार अभियानलाई रोक्न चौबिसे राज्यहरू लम्जुङ, कास्की पर्वतलगायतले एकल वा संयुक्त रूपमा गोरखामाथिको आक्रमण सबभन्दा बढी सिरानचोकमा भएको थियो । सिरानचोकको झिम्रेकलाई त केही समय उनीहरूको कब्जामा लिएकोसमेत देखिन्छ । पछि गोरखालीहरूको कडा मुकाबिला गरेर विसं १९३८ मा झिम्रेक फिर्ता ल्याएको र त्यसपछि पनि १८४१ को घर्तीछाप र चिप्लेटीमा भएको लडाइँमा चौबिसे राज्यका फौजलाई लखटेर युद्ध जितेको घटना बाबुराम आचार्यको पुस्तक ‘नेपालको संक्षिप्त इतिहास’ (पृष्ठ २३०) र राजकुमार दिक्पालको पुस्तक ‘पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास’ (पृष्ठ २९)’मा उल्लेख भएको देखिन्छ ।
विसं ०१३ सालमा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको उपस्थितिमा हर्मीका लीलानाथ ढकालको घरमा बसेर किसान संगठन बनाएको, जुन सिरानचोक पार्टी निर्माणको पहिलो खुड्किलो थियो । त्यसैगरी, ०३५ सालवरिपरि सिरानचोकका विभिन्न स्थानमा कम्युनिस्ट पार्टीका सेल निर्माण भएका थिए । यसमा हर्मीमा मोदनाथ मरहट्ठाहरू, छोप्राकमा रामशरण पोखरेलहरू र जौवारीमा यमुना न्यौपानेहरू सक्रिय थिए ।
जनमतसंग्रह र विद्यार्थी आन्दोलनको विस्तारको क्रममा ०३६ जेठ १० गते हर्मीमा पम्फा भुसाल, बलराम बाँस्कोटाहरूको उपस्थितिमा व्यापक जनपरिचालनको कडी, ०३७ सालमा हर्मी नवलपुरमा जनार्दन ढकाल, राजेन्द्र ढकालहरूको नेतृत्वमा स्ववियू गठन भएको, जुन सम्भवत: गोरखाकै पहिलो स्ववियू थियो । ०४२ सालमा हर्मीमा स्थापना भएको जनदीप पुस्तकालयले त्यो भेगमा संगठित गरेको शक्तिशाली जागरण, ग्रामीण वर्ग संघर्षको एउटा कडी ०५१ सालको संसदीय निर्वाचन बहिष्कारअन्तर्गत हर्मी निर्वाचन केन्द्रलाई ध्वंश गरेको घटनाजस्ता कैयौँ जागरण, परिचालन र वर्गसंघर्षका प्रारम्भिक कडी पुस्तकले छुटाएको छ ।
पुस्तकमा उल्लेख कैयौँ मिति र तथ्यांक फरक परेका वा गल्ती भएको देखिन्छ । जस्तो अमरसिंह थापाको जन्म र मृत्यु भनेर विसं १८०८–१९७१ (पृष्ठ १८) उल्लेख छ । यस तथ्यलाई मान्दा थापा १६३ वर्ष बाँचेको मान्नुपर्छ । त्यसैगरी, अमरसिंह थापाले नेपाल–अंग्रेज युद्ध (१८१४–१६) मा वीरतापूर्वक लडे (पृष्ठ १८) भन्ने उल्लेख छ । यसलाई सही मान्दा १८०८ सालमा जन्मेका थापा ६ वर्षकै उमेरमा अंग्रेजसँग लड्न गएका थिए भन्ने बुझिन्छ, जुन असम्भव तथ्य हो । जगतबहादुर श्रेष्ठ ०२८ सालमा केन्द्रीय न्युक्लियससँग आबद्ध (पृष्ठ २६) भन्ने विषय श्रेष्ठको स्मृति ग्रन्थ हेर्दा उहाँ सीधै चौथो महाधिवेशनसँग जोडिएको भन्ने फेला पर्छ । तुलबहादुर अछामीको जन्म मिति ०३६ र ०३८ साल (पृष्ठ १९६) भनेर एकै ठाउँमा दुईवटा मिति लेखिएको छ । लेखकले पुस्तकभित्र जति पनि मिति उल्लेख गरेका छन्, कुनै मितिमा पनि विसं हो कि ईस्वी भनेर उल्लेख छैन ।
यस्ता केही असावधानी, त्रुटि र अपुग हुँदाहुँदै पनि पुस्तक गज्जब छ, पठनीय छ र एक अर्थमा मौलिकसमेत छ ।