सुदूरपश्चिम रोयल्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार दोस्रो जित निकाल्दा पोखरा एभेन्जर्सले दोस्रो हार व्यहोरेको छ। शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको प्रतियोगिताको छैटौँ खेलमा सुदूरपश्चिमले पोखरालाई १८ रनले हरायो।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर मात्र १७५ रन बनाउन सक्यो।
आजको खेलमा सुदूरपश्चिमका लागि विदेशी खेलाडी जस ब्राउन र पोखराका कप्तान कुशल भुर्तेलले अर्धशतक बनाए।
पोखराले प्रतियोगितामा लगातार दोस्रो हार व्यहोर्न पुगेको छ। पोखराले यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको हार व्यहोरेको थियो। साबिक उपविजेता सुदूरपश्चिम भने लगातार दोस्रो जित निकाल्दै चार अंक जोड्न सफल भएको छ। टोलीले पहिलो खेलमा काठमाडाैं गोर्खाजलाई २९ रनले पराजित गरेको थियो।
पोखराको इनिङ्समा कप्तान तथा मार्की कुशल भुर्तेलले अर्धशतक बनाए। उनले ३२ बलमा ५३ रन बनाएका हुन्। एउटा एन्डबाट इनिङ्स धानिरहेका कुशललाई न्युजिल्यान्डका स्कट कुगेलेइनले बोल्ड गरेका थिए। आउट हुनुअघि कुशलले समान चार चौका र छक्का हिर्काएका थिए। प्रतियोगितामा कुशलको दोस्रो अर्धशतक हो। उनले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५९ रन बनाएका थिए।
पोखराबाट पहिलोपटक खेलिरहेका जिमी निसमले ४७ रन बनाए। उनले २५ बलमा तीन चौका र पाँच छक्का हिर्काएका थिए। पहिलो खेलमा उनी गोल्डेन डक भएका थिए। यसअघि २.२ ओभरमै दुई विकेट गुमाएपछि पोखरा दबाबमा आएको थियो। ओपनरद्वय एडाम रोसिंघटन एक तथा दिनेश खरेल ६ रन बनाउँदा आउट भएपछि पोखरा दबाबमा आएको थियो। तर, तेस्रो नम्बर क्रिजमा आएका कुशलले पाँचौँ नम्बरमा आएका निसमबिच ७५ रनको साझेदारी गर्दै टोलीलाई अगाडि बढाएका हुन्।
आठौँ नम्बरमा क्रिजमा आएका डान डाउथवेटले ३७ रन बनाए। १६ बलमा एक चौका र पाँच छक्का हिर्काएका उनलाई हेमन्त धामीले कुगेलेइनको हातबाट छक्का हान्ने क्रममा क्याचआउट गराए।
चौथो नम्बर ब्याटिङमा आएका किरण ठगुन्नाले नाै, सुमित बर्माले ६ तथा अभिषेक तिवारीले मात्र तीन रन बनाए।
सुदूरपश्चिमका हर्मित सिंहले दुई तथा स्कट कुगेलेइन, दीपेन्द्रसिंह ऐरी, अभिनाश बोहरा, हेमन्त धामी र नरेन साउदले समान एक विकेट लिए। इशान पाण्डे भने विकेटविहीन रहे।
यसअघि सुदूरको इनिङ्समा अस्ट्रेलियन ३१ वर्षीय ओपनिङ ब्याटर जस ब्राउनले अर्धशतक बनाएका थिए। जिमी निसमको बलमा किरण ठगुन्नाबाट क्याचआउट हुनुअघि जसले ३५ बलमा ६ चौका र पाँच छक्का हिर्काएका हुन्।
अर्का ओपनिङ ब्याटर विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाए। ६ चौका प्रहार गरेका विनोद अर्धशतक बनाउन सात रनले चुके। उनलाई आकाश चन्दले कुशल भुर्तेलबाट क्याचआउट गराए।
पहिलो विकेटको लागि विनोद र ब्राउनले १०८ रनको बलियो साझेदारी गरेका थिए। दुई खेलाडीले १०.४ ओभरसम्म ब्याटिङ गर्दा सुदूरपश्चिमले बलियो योगफल तयार पारेको थियो। यी दुवै खेलाडी काठमाडौंविरुद्ध डकआउट भएका थिए।
विनोद र ब्राउनले दोस्रो एनपिएलमा पहिलो विकेटको लागि सर्वाधिक ठुलो साझेदारी गरेका हुन्। समग्र दोस्रो एनपिएलको भने दोस्रो ठुलो साझेदारी रह्यो। यसअघि विराटनगरका लोकेश बम र मार्टिन गप्टिलले पोखराविरुद्ध नै दोस्रो विकेटको लागि १३२ रनको साझेदारी गरेका थिए।
तेस्रो नम्बर क्रिजमा आएका अर्का अस्ट्रेलियन ब्याटर क्रिस लिनले आक्रामक ब्याटिङ गरे। उनले १३ बलमा चार चौका र दुई छक्कासहित ३१ रन बनाएर जिमी निसमबाट आउट हुन पुगेका थिए।
कप्तान दीपेन्द्रसिंह ऐरीले १० बलमा १५ रनको योगदान गरे। उनले समान एक चौका र छक्का प्रहार गरेका थिए। अघिल्लो खेलमा अर्धशतक बनाउँदै प्लेयर अफ दी म्याच बनेका हर्मित सिंह चार रन बनाएर आउट भएका थिए। उनी २० बलमा ५३ रन बनाउन सफल भएका थिए। स्कट केगुलेइनले आठ रन मात्र बनाउँदा आरिफ शेख डकआउट भएका थिए।
पोखराका जिमी निसमले तीन तथा डान डाउडवेट र आकाश चन्दले समान दुई विकेट लिएका थिए । डानले चार ओभरमा २४ रन खर्चिए । जिमीले चार ओभरमा ४७ खर्चिएका थिए । आकाशले ४४ रन खर्चिएका थिए । विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेल विकेटविहीन भए ।
शनिबार दुई खेल हुनेछन् । सवा ११ मा हुने पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सको सामना गर्नेछ। दोस्रो खेलमा ३ः३० बजे विराटनगर किंग्स र काठमाडौंले प्रतिस्पर्धा गर्नेछन्।