हेटौँडामा पुनः सुरु भयो २५ मिटरको चर्चा, अतिक्रमित संरचना हटाउन सडक डिभिजनको सूचना

शुक्रबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

सडक डिभिजन कार्यालयले मंसिर ५ गते एउटा सार्वजनिक सूचना जारी गरेसँगै हेटौँडामा पुनः २५ मिटरको चर्चा सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय हेटौँडाले हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमाभित्र पर्ने अतिक्रमित संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ।

डिभिजनले जारी गरेको सूचनाअनुसार १५ दिनभित्र सडकको केन्द्ररेखादेखि दायाँ–बायाँ २५–२५ मिटरसम्मको क्षेत्रलाई सडकसीमा मानेको छ। हेटौँडा उपमहानगरपालिका–रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकबाट सामरी पुलसम्म पर्ने क्षेत्रमा वर्षौँदेखि बनेका स्थायी तथा अस्थायी संरचनाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको क्षमता र सुरक्षा असर परिरहेको भन्दै सरकारले संरचना हटाउन आग्रह गरेको सूचनामा उल्लेख गरेको छ।

सूचनामा तोकिएको १५ दिनभित्र स्वैच्छाले अतिक्रमण हटाएर सडक सीमा खाली नगरे सडक डिभिजनले स्वयं संरचना हटाउने र सो क्रममा पर्ने सबै खर्च सार्वजनिक सडक ऐन, २०३१ तथा प्रचलित कानुनअनुसार सम्बन्धित व्यक्तिबाट असुल–उपर गरिने चेतावनीसमेत दिइएको छ। कार्यालयले सूचनामा सडक विस्तार, मर्मत–सम्भार, आपतकालीन सेवा सञ्चालन र सवारी आवागमनको सुरक्षित व्यवस्थाका लागि सडकसीमा कायम राख्नु बाध्यकारी भएको उल्लेख गरेको छ ।

डिभिजनले स्थानीय तह, सुरक्षाकर्मी, उपभोक्ता तथा सरोकारवालासँग समन्वय गरी सडकसीमा संरक्षण अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने जनाएको छ ।
 

सुझावित समाचार