कटारी–घुर्मी सडक मर्मतको माग गर्दै मन्त्री घिसिङलाई ज्ञापन

सोमबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

सिद्धिचरण राजमार्गअन्तर्गत पर्ने उदयपुरको कटारी–घुर्मी सडकखण्डको तत्काल स्तरोन्नति गर्न माग गर्दै कटारीका युवाहरूले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङसमक्ष ज्ञापनपत्र बुझाएका छन्। युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङसँग भेट गरी सडकको अवस्थाबारे विस्तृत जानकारी गराउँदै तत्काल सुधारका लागि पहल गर्न आग्रह गरेका हुन्।

जीर्ण अवस्थाका कारण हिउँदमा धुलाम्य र बर्खामा हिलाम्मे हुने सडकका कारण दशकौँदेखि यातायातसहित जनजीवनसम्म प्रभावित हुँदै आएको छ। हाल विभिन्न स्थानमा खाल्डाखुल्डीका कारण सडक झन् जोखिमपूर्ण बनेको छ। धुलो–धुवाँले स्थानीयवासीमा दम, फोक्सो तथा आँखासम्बन्धी समस्या बढ्दै गइरहेको छ।

सडककै कारण फोहोर पानी पिउन बाध्य स्थानीयहरू वर्षौँदेखि शुद्ध खानेपानीको अभाव झेलिरहेका छन् भने सडक दुर्घटनामा बर्सेनि सयौँ मानिसले ज्यान गुमाउँदै आएका छन्। चुनावको समयमा विभिन्न दलका नेता तथा उम्मेदवारहरूले यही सडक स्तरोन्नति गर्ने आश्वासनसहित भोट मागे पनि चुनाव सकिएपछि कहिल्यै ठोस कार्यान्वयन नभएको स्थानीयवासीको गुनासो छ। युवाहरूको टोलीले सरकार परिवर्तनको क्रममा ‘नागरिकको सरकार’ बनेको भन्दै नयाँ मन्त्रीलाई ध्यानाकर्षण गराएका हुन्।

भेटका क्रममा सडक संघर्ष समितिका संयोजक लीलबहादुर खत्री (सञ्जीव)ले मन्त्री घिसिङलाई ज्ञापनपत्र बुझाउँदै तत्काल नभए पनि अब ढिलो नगरी प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए। प्रत्युत्तरमा मन्त्री घिसिङले सडक निर्माणका लागि एक महिनाभित्र ठेक्का प्रक्रियामा जाने प्रतिबद्धता व्यक्त गरेका संयोजक खत्रीले बताए।

उक्त सडक कोशी प्रदेशमा ओखलढुंगा, खोटाङ, सोलुखुम्बु र आसपासका पहाडी क्षेत्रलाई तराईसँग जोड्ने महत्त्वपूर्ण पहुँच मार्ग हो। सडक जीर्ण हुँदा पहाडी जिल्लाका सर्वसाधारणलाई प्रदेश राजधानी विराटनगर पुग्न अत्यन्त कठिन हुँदै आएको छ। आपतकालीन स्वास्थ्य सेवा, प्रसूति, उपचार र शैक्षिक अवसरमा समेत प्रत्यक्ष असर परिरहेको स्थानीयहरूको भनाइ छ।

युवाहरूले सरकारलाई कटारी–घुर्मी सडकको निर्माण तथा स्तरोन्नति कार्य तत्काल सुरु गर्दै दीर्घकालीन समाधान सुनिश्चित गर्न आग्रह गरेका छन्।

सुझावित समाचार