नबिल बैंकद्वारा मास्टरकार्ड डेबिट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

 नबिल बैंकले मास्टरकार्ड डेबिट कार्ड जारी गरेको छ । बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई थप सहज बनाउन मास्टरकार्ड नेटवर्कअन्तर्गतको सहकार्यमा नयाँ डेबिट कार्ड जारी गरेको हो । कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय सुविधा दिने बैंकको प्रतिबद्धतामा यो नयाँ उपलब्धि भएको बताए । उनले भने, ‘बैंकले सुरुवातदेखि नै ग्राहकलाई विश्वस्तरीय सुविधा उपलब्ध गराउँदै आएको छ, यसै यात्रामा नयाँ डेबिट कार्ड जारी गरिएको हो ।’

मास्टरकार्ड, दक्षिण एसियाका प्रडक्ट एन्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलाले आफूहरू नयाँ डेबिट कार्ड जारी गरी नबिल बैंकसँगको सहकार्यलाई थप बलियो बनाउन पाउँदा खुसी लागेको बताए । मास्टरकार्डमार्फत आफूहरू ग्राहकलाई सुरक्षित र सहज भुक्तानीको सुविधा उपलब्ध गराउन प्रतिबद्ध भएको उनको भनाइ छ । उक्त कार्डमार्फत ग्राहकले मास्टरकार्डको विश्वस्तरीय सञ्जाल तथा दैनिक जीवनमा नयाँ बैंकिङ सेवाको अनुभव लिन पाउनेछन् । बैंकका अनुसार नयाँ डेबिट कार्ड आकर्षक डिजाइनमा उपलब्ध हुनेछ । जसमा शालीनता, स्वतन्त्रता र राष्ट्रिय गौरवको प्रतीक मानिने नेपालको राष्ट्रिय चरा डाँफेको चित्र अंकित गरिएको छ । 

साथै, यो कार्ड प्रयोगकर्ताले प्रिमियम सुविधासमेत पाउनेछन् । जसमा विभिन्न रेस्टुरेन्ट, स्पा, फिटसेन सेन्टर तथा मनोरञ्जनका क्षेत्रमा छुट उपलब्ध हुने बैंकले जनाएको छ । नबिल बैंक मास्टरकार्डको क्रेडिट कार्ड जारी गर्ने नेपालको पहिलो बैंक पनि हो । बैंकले मास्टरकार्डको क्रेडिट कार्ड नेपाली रुपैयाँ र अमेरिकी डलरमा कारोबार गर्न मिल्ने गरी उपलब्ध गराउँदै आएको थियो । कार्ड प्राप्त गर्नका लागि ग्राहकले बैंकको कुनै पनि शाखा वा एनबैंक एपमार्फत आवेदन दिन सक्ने जनाइएको छ ।

सुझावित समाचार