दलहरूलाई जेन–जीका प्रश्नैप्रश्न : प्रमुख दलहरूकै कारण संघीय लोकतान्त्रिक गणतन्त्रमा चुनौती थपिएको आरोप

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

जेन–जी अगुवाहरूले दलहरूलाई राज्य सञ्चालन, सुशासन र पारदर्शीका पक्षमा प्रश्नैप्रश्न राखेका छन् । बागमती प्रदेश सुशासन केन्द्रले आइतबार आयोजना गरेको ‘संघीय लोकतान्त्रिक गणतन्त्र : चुनौती र अवसर अन्तरसंवाद’ कार्यक्रममा सहभागी उनीहरूले दलहरूकै कारण संघीय लोकतान्त्रिक गणतन्त्रमा चुनौती थपिएको टिप्पणी गरेका हुन् । 

जेन–जी मुभमेन्ट अलायन्सका संयोजक अमित खनालले पार्टीहरू सुध्रिनुपर्ने, राजतन्त्रको धङधङीबाट बाहिर निस्किनुपर्ने, प्रदेशलाई सत्ताको खेल मैदान बनाउन नहुने, कर्मचारीतन्त्रमा सुधार हुनुपर्नेमा जोड दिए । ‘प्रदेशमा किन पटक–पटक मनलाग्दी मुख्यमन्त्री फेरिन्छ ? किन मन्त्रालय थपिन्छ ? पार्टीहरूले प्रदेशलाई गम्भीरतापूर्वक नलिएको हो कि ?’ उनले प्रश्न गरे, ‘संसदीय दलको नेता, सभापति सधैँ नेतृत्वमा किन ? रूपान्तरण किन भएन ?’ 

जेन–जी अगुवा विकास रसाइलीले पनि राजनीतिक र कर्मचारी संरचना सुधार कहिले र कसरी हुन्छ भनेर सोधे । अगुवा जस्मिन ओझाले राजनीतिका साथै कर्मचारीतन्त्रबाटै सुधार हुन जरुरी रहेको बताइन् । जेनजी अगुवा माजिद अन्सारीले २३ र २४ भदौको आन्दोलनमा राज्यसत्ता ढलेको भन्दै अपराधीकरण नगर्न चेतावनी दिए । उनले आन्दोलनमा दंगा नियन्त्रण गर्न राज्य असफल भएको भन्दै दंगा नियन्त्रण सशस्त्रलाई दिन र प्रहरीलाई अनुसन्धानको जिम्मा दिन माग गरे । त्यस्तै, जेन–जी रिजन रानामगरले नेपालका नेताहरू जल्लाद भएको टिप्पणी गरे । 

जेन–जी उपार्जन चाम्लिङले संघीयताका हिमायती भन्ने शासकबाटै चुनौती रहेको बताए । जेन–जी अगुवा पुरुषोत्तम यादवले संघीयता बलियो बनाउन केन्द्रीकृत मानसिकता त्याग्नुपर्ने बताए । मधेशमा भएको पछिल्लो राजनीतिक अभ्यासले संघीयता गलत छ भन्ने भाष्य स्थापित गर्न खोजिएको बताए । उनले सक्षम नेतृत्व, पारदर्शी शासन आवश्यक रहेको बताए । 
जेन–जी बागमती संयोजक अक्साना बानुले जेन–जी पुस्ता हाहाहुहु गर्दै हिँड्ने पुस्ता नभएको भन्दै बोल्दा ख्याल गर्न चेतावनी दिइन् । जेन–जी विराज अर्यालले भ्रष्टाचार नियन्त्रणभन्दा डेलिभरी ठुलो कुरा भएको बताए । पार्टी र नेताबाट निर्देशित हुँदासम्म संघीयता सफल नहुने उनको भनाइ थियो । दिक्पाल क्षेत्रीले जेन–जी आन्दोलनपछि पुरानो पुस्ताले आम रूपमा बहिर्गमन हुने वेला आएको बताए । गौरव पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रको विश्वनीयतामा चुनौती छ । यसका लागि दलहरूले चरित्र परिवर्तन गरेर विश्वसनीय वातावरण बनाउनुपर्ने बताए । विकास यादवले संघीय व्यवस्था राम्रो भए पनि दलहरूबाटै प्रहार भइरहेको बताए । मधेशमा प्रहार हुँदा अन्य प्रदेशका मुख्यमन्त्रीले प्रश्न नगरेको भन्दै उनले आक्रोश पोखे । 

छलफलमा पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचार निर्मूल पार्ने अभियानमा जेन–जी पुस्ताको लडाइँमा साथ दिने बताए । पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले जेन–जीहरू हाहाहुहु नभएको र नवयुवा हो भन्दै आन्दोलनको नेतृत्वकर्ताको रूपमा अगाडि बढ्न सुझाइन् । उनले २३ भदौमा युवाको ज्यान जानु अपराधपूर्ण कार्य भएको र यसमा राज्य सञ्चालकबाट अपराध भएको टिप्पणी गरिन् ।

मधेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनमा तीनवटा नेता बाधक रहेको बताए । कोशीका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले संविधान संशोधनको बहस आउँदा संघीयता नै जान्छ भन्ने संकुचित मानसिकताले सुधार गर्न नसकिएको बताए । अब जेन–जीहरूले आवश्यक सुधार गरेर संविधानलाई जीवन्त बनाउनुपर्ने उनको भनाइ थियो । बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले व्यवस्थाभित्रका कमजोरीलाई अवसरमा बदल्ने प्रतिबद्धता व्यक्त गर्दै सुशासन र पारदर्शिता कायम गर्न युवा पुस्ताका सुझावलाई समेट्ने प्रतिबद्धता जनाए । 

सुझावित समाचार