वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यासँगै रेमिट्यान्स आय पनि उच्चदरमा बढ्न थालेको छ । पछिल्लो एक महिनामा मात्रै नेपालमा दुई खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म) पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले बढी हो । असोज महिनामा मात्रै दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको असोज महिनामा एक खर्ब ४४ अर्ब १७ करोड रेमिट्यान्स भित्रिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई तीन अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । यो तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख २३ हजार चार सय ५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार दुई सय ५७ रहेको छ । अघिल्लो वर्ष नयाँ श्रम स्वीकृति लिने एक लाख १० हजार र पुनः श्रम स्वीकृति लिने ५९ हजार नौ सय रहेका थिए ।
चालू आवको तीन महिनामा कुल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड पुगेको छ । आयात १९.८ प्रतिशतले वृद्धि भई चार खर्ब ६८ अर्ब आठ करोड पुगेको छ । निर्यात उच्चदरमा बढेको भए पनि आयातको आकार ठुलो भएको हुँदा यो तीन महिनामा कुल वस्तु व्यापार घाटा १२.२ प्रतिशतले वृद्धि भई तीन खर्ब ९५ अर्ब ३० करोड पुगेको छ ।
रेमिट्यान्स र निर्यात वृद्धिदर उच्च भएपछि नेपालको भुक्तानी सन्तुलन उल्लेखनीय बचतमा देखिएको छ । समीक्षा अवधिमा चालू खाता दुई खर्ब ३७ अर्ब ५९ करोडले बचतमा रहेको छ । त्यस्तै, यस अवधिमा शोधनान्तर दुई खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
विदेशी मुद्रा सञ्चिति पौने ३० खर्ब
आयको तुलनमा व्यय कम हुँदा विदेशी विनिमय सञ्चिति उच्चदरमा बढ्दै गएको छ । रेमिट्यान्स र निर्यात वृद्धिदरको तुलनामा आयात वृद्धिदर न्यून हुँदा विदेशी विनिमय बचत बढ्दै गएको हो । असोज मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ, जुन गत असार मसान्तसम्मको तुलनामा ११.३ प्रतिशतले बढी हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २६ खर्ब ६७ अर्ब ७० करोड र बैंक तथा वित्तीय संस्था तीन खर्ब १२ अर्ब १० करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । आर्थिक वर्ष ०८२÷८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
झनै घट्यो कर्जा वृद्धिदर
वित्तीय प्रणालीमा लगानीयोग्य तरलता अधिक र ब्याजदर न्यून हुँदा पनि कर्जा प्रवाह वृद्धिदर भने अझै खुम्चिएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले वृद्धि भई ५५ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जा २.५ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकले साढे ८० अर्ब कमायो, ४२ अर्ब सरकारलाई दिने
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष ०८१/८२ मा साढे ८० अर्ब कमाएको छ । राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार बैंकले अघिल्लो आव ०८०/१ को तुलनामा ९.११ प्रतिशतले बढी अर्थात् ८० अर्ब ४८ करोड २६ लाख ५० हजार खुद आम्दानी गरेको हो ।
राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले केन्द्रीय बैंकको आर्थिक वर्ष ०८१÷८२ को वार्षिक प्रतिवेदन अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष आइतबार पेस गरेका हुन् । राष्ट्र बैंकले आफ्नो खुद आयको झन्डै ५० प्रतिशत रकम सरकारलाई दिने भएको छ ।
राष्ट्र बैंक सञ्चालक समितिको २८ कात्तिकको बैठकले बैंकका विभिन्न कोषहरूमा छुट्याउनुपर्ने आवश्यक रकम विनियोजन गरी बाँकी रकम ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । ०८२ असार मसान्तको वित्तीय स्थितिको विवरणअनुसार बैंकको सम्पत्ति तथा दायित्व ०८१ असार मसान्तको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भई २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार पुगेको प्रतिवेदनमा उल्लेख छ ।